काठमाण्डौ । नेपालमा अझै पनि सहल कीराको झुण्ड आउने जोखिम रहेकाले सतर्क हुन सरकारले आग्रह गरेको छ ।

भारतको राजस्थानमा सलहको झुण्ड धेरै रहेको र यी हावाको गतिमा अघि बढ्ने भएकाले अझै पनि नेपालमा आउने संभावना उच्च रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिनुभयो । नेपालमा अहिले खासै सलह छैनन् ।

सलह पानीमा निस्क्रिय हुने भएकाले राजस्थानमा पानी परे केही समयका लागि नेपाल आउने सम्भावना टर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अस्ति पश्चिम कञ्चनपुरबाट प्रवेश गरेका सहलले नेपाल छाडिसकेका छन् ।

सुर्खेतमा देखिएको सहलको केही झुण्ड दैलेखतिर र केही बर्दियाको राष्ट्रिय निकुञ्जतिर लागेका पनि उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले नेपालको सीमामा यी कीरा छैनन् । तर राजस्थानबाट उत्तरपूर्व हावा बहँदा नेपाल आउने सम्भावना अझै रहेको हो । सहलको झुण्डले बालीनालीमा नोक्सानी गर्ने भएकाले सकेसम्म बालीमा बस्न नदिने उपाय नै अपनाउन उहाँको सुझाव छ ।

प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार सलहको झुण्डलाई बालीमा बस्न नदिन ठूलो आवाज निकाल्ने र धुँवा बाल्न सकिन्छ । विषादीको प्रयोग गर्दा पर्यावरणमा दीर्घकालिन असर गर्ने भएकाले पनि सकेसम्म विषादी प्रयोग नगर्न उहाँको सुझाव छ ।