अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाले मंगलबार एक कार्यक्रमको आयोजना गरी यहाँका किसानहरुलाई घाँस काट्ने मेसिन (च्याप कटर) र मिल्क क्यान वितरण गरेको छ ।

नगरमा रहेका पशुपालक कृषकहरुको प्रवद्र्धन गर्ने उद्देश्यले शाखाले बर्सेनि यस्ता सामग्री वितरण गर्दै आएको छ । शाखाले गत आर्थिक वर्ष ०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत विपन्न किसानलाई निःशूल्क र अधिकांश किसानलाई साझेदारीमा उक्त सामग्री उपलब्ध गराएको हो ।

कुल छ लाख ६० हजारबाट ५३ जना मध्यम कृषकलाई साझेदारीमा र २० जना विपन्न कृषकलाई निःशुल्क च्याप कटर वितरण गरेको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।

त्यसैगरी सोही कार्यक्रममार्फत् १४ जना दुग्ध व्यवसायीलाई साझेदारीमा मिल्क क्यान वितरण गरिएको थियो । नगर प्रमुख हरिकुमार रानाले नगरलाई समृद्ध बनाउन कृषि, पशु क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै यसैबाट जीवनस्तर उकास्न सकिने दाबी गरे ।

नगर प्रमुख रानाले नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री प्रदान गरेको बताए । कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको नगर प्रमुख रानाको भनाइ छ ।

नगर प्रमुख रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा–१ का ताराप्रसाद रेग्मीलाई मिल्क क्यान हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख कमला खतिवडा आचार्य, कृषकहरु घनश्याम ढुंगेल, देवकला प्रसाईं, तारा सुवेदीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, वडाध्यक्षलगायतकाे उपस्थिति रहेकाे थियाे ।