धुलाबारी । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ ले उपभोक्तालाई निःशुल्क विरुवा वितरण सुरु गरेको छ ।

आफ्ना उपभोक्तालाई कृषि कर्ममा प्रेरित गराउने उद्देश्यले विरुवा उपलब्ध गराएको वन समूहका अध्यक्ष अमर लिम्बूले जानकारी दिए । उनका अनुसार उपभोक्तालाई वितरण गरिएका विरुवाहरु घाँसको रुपमा पछि प्रयोग गर्न सकिने खालका छन् ।

मागुरमाडी वनका धेरैजसो उपभोक्ता कृषि पेशामा आश्रित छन् । गाईवस्तु तथा बाख्रापालन गरेर बसेका उपभोक्ताका लागि ती विरुवाले घाँसको काम गर्ने वन समूहका सल्लाहकार भक्तिप्रसाद आचार्यले बताए ।

मागुरमाडी वन समूहमा रहेका ६९० उपभोक्तालाई २ हजार १ सयवटा विरुवा वितरण गरिनेछ । सबैलाई प्रतिउपभोक्ता तीन÷तीनवटा विरुवा सित्तैमा उपलब्ध गराइने अध्यक्ष लिम्बूले बताए । तीन वटाभन्दा बढी लैजानका लागि भने केही शुल्क लाग्ने वन समूहले जनाएको छ ।

आज (शनिबार) बाट क्षेत्र नं ५ का उपभोक्तालाई विरुवा वितरण सुरु गरिएको छ । पाँच दिनभित्र सबै उपभोक्तालाई विरुवा वितरण गरिसक्ने जनाइएको छ ।

वन समूहले विभिन्न विरुवाको वीऊविजन खरिद गरेर नर्सरीमा राखेको थियो । वीऊविजन खरिदमा समूहको एक लाख रुपैयाँ खर्च भएको अध्यक्ष लिम्बूले बताए । उपभोक्तालाई उपलब्ध गराइएको विरुवामा अमला, सतिसाल, टाँकी, मसला, लटर, इपीललगायत जातका रहेका छन् ।