उकाली ओराली गर्दै, आँखाभरि रहर भर्दै
आँधीबेरीसंँग लड्दै, खोला नदी सागर तर्दै
दुःख पीडा बिर्सदैँ म आएँ, परदेशबाट फर्की आएँ
आफ्नै गाउँ फर्की आएँ, नयाँ नयाँ सपना ल्याएँ…

एउटा पुरानो नेपाली चलचित्रको सदाबहार गीत… अक्सर परदेश जानेको पूरै कथा बोल्छ यो गीतले । अनि परदेशमा ‘भनेजस्तै’ भयो भने यो गीत आफैँ मनमा गुन्जिँदो पनि हो । अर्जुनधाराका एक युवा वैदेशिक रोजगारीको सिलसिलामा गत माघ महिनामा दुबई पुगेका रहेछन् । त्यहाँ जानूअघि उनले काठमाडौँमा कुकसम्बन्धि ६ महिना तालिम लिए अनि त्यही काम गर्ने आफन्तको पहलमा उनी त्यहा पुगे ।

म्यानपावर, तालिम खर्च, काठमाडौँ बसाइ आदि इत्यादि गर्दा करिब ५ लाख रुपैयाँ उनको खर्च भएको थियो । महिनाको करिब १ लाख नेपाली रुपैयाँ कमाइ हुने बुझेर नै उनले जोखिम मोले, तर चानचुन एक महिना काम गर्न नपाउँदै उनको होटल बन्द भयो । उनी पनि विश्वले व्यहोरेको महामारीको बिलखबन्दमा परे ।

एक महिना अघिमात्र उनी अर्जुनधाराको क्वारेन्टाइनमा आइपुगे । र, अहिले उनी आफ्नै घरमा छन् । क्वारेन्टाइनमा भेट हुँदा उनले मसँग पीडा सुनाएका थिए । यो त एउटा उदाहरणमात्रै हो, मैले चैत ३ गते नेपालबाट कतार गएका अर्का युवालाई पनि यहि क्वारेन्टाइनमै भेटेको थिएँ । सबैको पीडा फरक फरक तर पीडा त पीडा नै होनि !

‘अहिले त ज्यान बचाउनु नै ठूलो कुरा हो, बाँचिएछ भने त पैसा त जत्ति पनि कमाइहालिन्छ नी’

बढो गज्जबको लाइन छ यो ! फर्किनेहरु सायद यहि भन्दै फर्किए, किन कि यो भन्नुको बिकल्प पनि त थिएन । अहिले घर फर्किएर आउने प्रायः सबैसँग कामको सीप र दक्षता छ । इलेक्ट्रिकल्स, ड्राइभिङ, कुकिङ, क्लिनर आदि इत्यादि । मानिससँग कामको सीप त्यसै आउँदैन त्यो प्राप्त गर्न लगानी, समय अनि इच्छा शक्ति आदि हुनु पर्छ ।

संसार नै अहिले शोकमा छ, लाखौँको मृत्यु त्योभन्दा धेरै संक्रमित अनि संक्रमित नहुने पनि मानसिक पीडामा छन् । किन कि धेरैको जागिर गयो, धेरैलाई ऋण लाग्यो अनि धेरैलाई आआफ्नै पीडा भयो । विश्व नै कोभिड १९ को सिकार हुन पुग्दा हाम्रो सानो हिमाली मुलुक पनि अछुतो कहाँ रह्यो र ! पीडा त घरमै बस्नेलाई पनि होला तर परदेश पुगेर अहिले फर्किनेको पीडा दर्दनाक छ ।

जसोतसो ज्यान त बचाइयो तर बचाएर के गर्ने ? विदेश जाँदाको लगानी कसरी उठाउने ? अब मैले के गर्ने ? हातमा सीप हुने मान्छे कहिल्यै भोकै मर्दैन भन्छन् नि भन्न त । तर, यी सीप भएका मानिसहरुले अब आफ्नो सीप कहाँ प्रयोग गर्ने ? अहिले फर्किएर आउने नागरिकलाई रोजगारको जिम्मा स्थानीय सरकारले लिन सक्छ ? स्थानीय सरकारले उनीहरुको लागि के कस्तो योजना बनाउदैछ ? यस्तै यस्तै कुराले आजभोलि यो लेखकजस्तै धेरै व्यक्ति गम्भीर भएको हुनुपर्छ ।

‘आउन त आइयो तर आएर पो के गर्नु हो, ऋण तिरिसकेकै छैन फेरि जान पाए कम्तिमा ऋण त तिरिन्थ्यो’ यो भनाइ प्रायःको मुखबाट निस्कन्छ । हो, फेरि गएर ऋण तिर्ने सपना अनि फर्किएर आउँदा माथिको गीत गाउँदै फर्किने रहर पनि धेरैको छ तर सत्य यो पनि हो कि उनीहरुलाइ नै फेरि कहिले गइन्छ त्यो चाहिँ थाहा छैन ।

घर, गाउँ, समाजमात्रै होइन देश नै छोडेर जानेको पीडा शब्दमा ब्यक्त गर्न सकिँदैन अनि जति आशा बोकेर परदेश पुगिन्छ भनेअनुरुपको काम र दाम नपाउँदा त झन् निन्द्रा कहाँ लाग्छ र ! फेरि अहिलेको परिस्थितिमा स्वदेश आइपुग्नु पनि एउटा उपलब्धि पनि हो । यस्तो उपलब्धि कि पहिलेभन्दा धेरै संघर्ष गरेर बाँँकी जीवन बिताउनका लागि हो ।

मेरो एउटा साथीले फ्रिज बिग्रेको तीन महिना हुँदा पनि मर्मत गर्ने मान्छे नभेटेको कुरा सुनाएको थियो तर क्वारेन्टाइनमा रहेका एक जना भाइ फ्रिज मर्मत गर्ने काममा परदेश गएका थिएछन् । गाउँमा गाडी कुदाउने मान्छे पाइँदैन तर चालकहरु विदेश जाँदैछन् । जान त केही सीप नै नभएका पनि न्यून पारिश्रमिकमा जान्छन् अनि गाउँमा खेतबारीमा काम गर्ने मान्छे पनि आजभोलि कहाँ भेटिन्छ र ! अब समस्या कहाँ छ ? यो मैले नबुझेको कुरो भयो ।

पुरुषमात्रै होइन एक वर्षअघि कुवेत गएकी एक जना दिदीको समस्या पनि कम थिएन । घरायसी कलहले बिदेसिएकी उनी कुवेतमा क्लिनरको काममा गएकी रहेछिन् तर विदेश त भाग्य चिट्ठा रहेछ सर भन्दै ‘बरु नगएको भए राम्रो हुनेरै’छ’ भनेर आफ्नो पीडा राखिन् ।

पीडा त स्वदेशमै बस्नेको पनि छ तर प्रयास गर्दै नगर्नु र प्रयास गरेर पनि नहुनुचाहिँ प्रमुख कुरा हुन् । अरुजस्तै अहिले हाम्रो नगर पनि कोरोना ब्यवस्थापनमा जुटेको छ । तर, चुनौती दिनानुदिन थपिदैँछ । बिदेसिएर गीत नै गुनगुनाउँदै फर्किन अझै धेरै पर्खिनुपर्ने देखिन्छ तर अहिले फर्किनेलाई नगरले कम्तिमा रोजगारीको सवालमा प्राथमिकता दिनुपर्छ ।

नगरले गर्ने विकास निर्माण होस् वा अन्य कुनै काममा प्राथमिकतामा अहिले फर्किनेहरु नै पर्नुपर्छ । थोरै भए पनि घाउमा मल्हम लगाउन पछि पर्नु बिल्कुलै हुँदैन ।

कमल पाेख्रेल, अर्जुनधारा ७, झापा