दमक । झापाका थप तीनजना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरु पाथीभरा गण पाडाजुंगीका रहेका छन् । उनीहरु तालिमका लागि इलामबाट पाथीभरा गण आएको जनाइएको छ । त्यस गणका ६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

त्यसमध्ये तीनजनाको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए । यसअघि सशस्त्र प्रहरी बल काँकडभिट्टाका २० जना सशस्त्र प्रहरी संक्रमित भइसकेका छन् ।

आजै दमक नगरपालिका वडा नं ५ का एक महिलामा पनि संक्रमण पुष्टि भएको छ । भारतबाट फर्केर ४३ वर्षिया ती महिला होम क्वारेन्टाइनमा बसेकी थिइन् । योसंगै झापामा कोरोना संक्रमितको सँख्या ३५५ पुगेको छ ।