झापा । भद्रपुरको मेची अस्पतालमा आजदेखि कोरोना भाइरसको नमूना परीक्षण हुने भएको छ ।

बुधबारदेखि नियमित पिसिआर परीक्षण गर्ने गरी आजदेखि नमूना परीक्षण गर्न लागिएको हो । दुई दिन नमूना परीक्षण गरेपछि नियमित परीक्षण शुरु गर्ने जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले बताए ।

‘आज र भोलि नमूना परीक्षण गर्छौ’, उनले भने, ‘त्यसलाई क्रस भेरिफिकेसनका लागि विराटनगर पठाउँछौ, रिपोर्ट ठीक देखियो भने नियमित परीक्षण थाल्छौं ।’ मेची अस्पतालमा पिसिआर ल्याब संचालनको जिम्मेवारी जिल्ला समन्वय समितिका संयोजक पोर्तेललाई मिलेको छ । उनले मेशिन जडान, कर्मचारीलगायतका व्यवस्थापकीय काम केही दिनअघि नै तयारी गरिसकेको जानकारी दिए ।

यता कनकाई नगरपालिकाको कोटिहोममा पिसिआर ल्याब संचालन हुन अझै केही दिन लाग्ने भएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति ल्याएर संचालन गर्न समय लाग्ने भएको हो । सरकारी अस्पताल मेची भद्रपुरको मातहतमा संचालन हुनेगरी अनुमति माग्नका लागि छलफल हुँदैछ ।

जिल्ला समन्वय समितिका संयोजक पोर्तेलसँग सल्लाह गरेर स्वास्थ्य मन्त्रालयमा अनुमतिका लागि पत्र पठाउन लागिएको पिसिआर ल्याब स्थापनाको अगुवाइ गर्ने एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले बताए । त्यस विषयमा भोलि छलफल हुने पोर्तेलले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयबाट अनुमति आउन करिव एक साता लाग्ने अनुमान गरिएको छ । झापामा समुदायमा कोरोना संक्रमण फैलिसकेको छ । त्यही भएर छिटोभन्दा छिटो पिसिआर ल्याब संचालन गर्नु पर्ने खाँचो रहेको गिरीले बताए ।

दुवै पिसिआर ल्याब एउटै क्षमताका रहेका छन् । एक लटमा ९६ वटा परीक्षण गर्न सकिने क्षमता रहेको छ ।