विराटनगर । सोमबार एकैपटक २२ जना कोरोना संक्रमित फेला परेपछि मोरङको रंगेली नगरपालिका क्षेत्र मंगलबार बिहानदेखि तीन दिनका लागि सिल गरिएको छ ।

सो नगरपालिका क्षेत्रको पुूर्वमा मधुुवनी, पश्चिममा चिसाङ खोला, उत्तरमा वक्राहा खोला तथा दक्षिणमा भन्सार नाकासम्मको क्षेत्र सिल गरिएको नगरपालिकाका प्रमुुख दिलिप वगडियाले जानकारी दिनुभयो ।

एकैपटक धेरै संक्रमित फेला परेपछि रंगेली एरिया सिल गरेर कन्ट्याक ट्रेसिङको आधारमा पिसिआर चेक गर्न शुुरु गरिएको प्रमुख वगडियाले बताउनुभयो ।

रंगेली नगरपालिकाको वडा नं. ७ मा २२ जना संक्रमित फेला परेका थिए । जिल्ला अस्पताल रंगेलीका स्वास्थ्यकर्मी तथा विधुुत प्राधिकरणका कर्मचारीमा समेत कोरोना देखिएपछि रंगेलीक्षेत्र सिल गरिएको हो । अन्य वडाहरुमा पनि संक्रमण फैलिन सक्ने भन्दै नगरपालिका क्षेत्र सिल गरिएको प्रमुख वगडियाले जानकारी दिनुभयो ।

उहाँले पहिले तीन दिनसम्म संक्रमित ब्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर टेष्ट गर्ने र त्यसको रिपोर्टको आधारमा रंगेली क्षेत्रलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

यो पहिलो पटक रंगेलीबासीमा कोरोना संक्रमण भेटिएको हो । यसअघि भारतबाट आएर क्वारेन्टीनमा बसेका १० जनामा संक्रमण भेटिएको थियो । रंगेली नगरपालिकामा जम्मा ३२ जना संक्रमित भेटिएका छन् भने मंगलबार ३ सय जनाको स्वाब संकलन गरिएको प्रमुख वगडियाले जानकारी दिनुभयो ।