बिर्तामोड । झापामा सवारी चालकले ट्राफिक नियम उलङ्घन गरेवापत ५५ हजार चालकले जरिवाना तिरेका छन् ।

गत आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले उनीहरुसँग कडाइपूर्वक जरिवाना असुली गरेको हो । ५५ हजार चालकमाथि कारवाही गर्दा एक वर्षमा चार करोड रुपैयाँ भन्दाबढी राजस्व संकलन भएको झापा ट्राफिकका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए ।

ट्राफिक नियम उलङ्घन गरेपछि जरिवाना तिरेर एकपटक उन्मुक्ति पाएका सवारी चालक पटक-पटक कार्वाहीमा परिरहेको ट्राफिक प्रहरीको अनुभव छ ।

सवारी नियम पालना नगर्ने चालकमाथि कारवाही तीव्र पारिए पनि दुर्घटनामा भने कमी आउन सकेको छैन । गत आर्थिक वर्षमा झापामा ६२ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको प्रहरी निरीक्षक जवेगुले जानकारी दिए ।