फिक्कल । इलामको सूर्योदय नगरपालिकामा लकडाउन (बन्दाबन्दी) हुने भएको छ ।

कोरोना भाईरसको उच्च जोखिम रहेको भन्दै नगरकार्यपालिकाको आज बिहीबार बसेको आकस्मिक बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिका क्षेत्रमा कोरोना भाईरसको जोखिम बढ्दै गएको छ, कोरोना भाईरसको प्रकोप समुदायमा नफैलियोस् भन्ने उद्देश्यका साथ लकडाउन गर्ने निर्णय भएको नगरपालिका प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो ।

उनका अनुसार नगरपालिकामा अनिश्चितकालिन रुपमा लकडाउन गर्ने निर्णय भएको छ । सूर्योदय नगरपालिकामा आजैमात्र वडा न ११ स्थित सशस्त्र प्रहरी बल आईतबारेमा कार्यरत एक प्रहरी जवानमा कोरोना भाईरस देखिएपछि उक्त क्षेत्र शिल गरिएको छ ।

यस्तै नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलद्वारा जारी विज्ञप्तिमा नगर क्षेत्रको कृषिजन्य उत्पादन दूधजन्य उत्पादन, दैनिक उपभोग्य खाद्यान्न बस्तुहरु, अत्यावश्क इन्धन, औषधि ओसारपसार, आपूर्ति कार्यबाहेक अन्य सबै प्रकारका स्थानीय यातायात, होटल रेस्टुरेन्ट, होम स्टे, हाटबजार, टोल समाज भिडभाड हुने स्थान, सामाजिक सांस्कृतिक कार्यहरु, धार्मिक क्रियाकलापहरु बन्द गर्ने उल्लेख छ ।

खाद्यान्न पसलको हकमा बिहान ८ बजेबाट १२ बजेसम्म मात्रै सामाजिक सुरक्षाको उपाय अपनाएर सञ्चालन गर्न दिईने भएको छ । साथै अर्को पालिका, जिल्ला भएर सूर्योदय नगरपालिकाहुँदै चल्ने लामो दूरीका सवारीसाधनलाई सूर्योदय नगरपालिकाको कुनै पनि स्थानमा यात्रु चढ्ने, ओराल्ने, रोक्ने कुनै कार्य गर्न नपाईने बताईएको छ ।