विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगरमा चार जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार तीन जना र शनिबार एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार पत्रकार सञ्जिव खनाल, कमल रिमाल र दिनेश साहलाई संक्रमण पुष्टि भएको थियो । शनिबार पत्रकार बाबुराम भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

भण्डारी, खनाल र रिमाल विराटनगरको उद्घोष दैनिकमा कार्यरत छन् । साह साप्ताहिक पत्रिका प्रकाशन गर्छन् ।

दैनिक रिपोर्टिङमा खटिएका तीन जनालाई कोरोना संक्रमणको स्रोत देखिएको छैन । तीन जना पत्रकारले सामाजिक सञ्जाल मार्फत आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना जाँच गर्न आग्रह गरेका छन् ।

विराटनगरमा संक्रमितको संख्या २५६
विराटनगरमा कोरोना संक्रमितको संख्या २५६ पुगेको छ । शनिबार थप ३३ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि कोरोना संक्रमितको संख्या २५६ पुगेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

उनका अनुसार शनिबारसम्म विराटनगर भित्र ३ हजार ५४५ जनाको कोरोना जाँच गरिएको छ । ती मध्ये २५६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना संक्रमण पुष्टि भएकामध्ये ४३ जना उपचारपछि घर फर्किएका छन् । शुक्रबार पनि विराटनगरमा ३३ जना संक्रमित थपिएका थिए ।