काठमाडौं । नेपालमा आइतबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ थियो ।

पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ३५३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३१३ थियो ।

सक्रिय संक्रमितको संख्या ६ हजार ५४४ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।