झापा । झापाको अर्जुनधारामा कोरोना भाइरस संक्रमण पुष्टि भएका दुई व्यक्ति तीन दिनदेखि क्वरोन्टाइनमै बसिरहेका छन् ।

संक्रमितलाई उपचार गर्ने अस्पतालको बेड भरिभराउ भएपछि संक्रमित व्यक्तिलाई क्वारेन्टाइनमै राख्न बाध्य भएको अर्जुनधारा नगर स्वास्थ्य शाखाले जनाएको छ । भारतबाट आएका ती युवालाई आइतबार बिहान संक्रमण पुष्टि भएको थियो ।

क्वारेन्टाइनमा रहेका २५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरुसँगै समुदायका १०२ जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

कोरोना संक्रमित व्यक्तिको उपचारका लागि मोरङको गोठगाउँ, विराटनगर र सुनसरीकाे धरानमा लैजाने गरेको थियो । तर, बेड अभावका कारण क्वारेन्टाइनमै राखिएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

उनका अनुसार अर्जुनधारा नगरपालिकामा हालसम्म २१ जनामा संक्रमण पुष्टि भइसकेको छ भने १५ जना निको भएर घर फर्किसकेका छन् ।

समुदायसहित क्वारेन्टाइनमा रहेका १४७ जनामा गरिएको स्वाब संकलनको रिपोर्ट आउन बाँकी रहेको छ । नगर स्वास्थ्य शाखाले आज पनि समुदाय र क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब संकलन गर्ने जनाएको छ ।

यसैबीच, अर्जुनधारा नगरपालिकाको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीले नगरभित्रै आइशोलेसन स्थापना गर्ने तयारीमा जुटेको जनाएको छ ।

यस्तै, धरानमा हिजो बिहान कोरोना सङ्क्रमण पुष्टि भएका कोरोना सङ्क्रमितलाई अस्पतालमा बेड अभावको कारण होम आइसोलेसनमै बस्न भनिएको छ ।

धरान १३ का दुई जना आफैँ होम क्वारेन्टाइनमा सुरक्षित तरिकाले बस्न भनिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

हिजो एक जना महिला र २ जना पुरुषलाई भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको तर बाँकीलाई घरमै राखिएको छ ।

धरानमा समुदायस्तरमा कोरोना सङ्क्रमण छ की छैन भनेर गरिएको मास टेस्टिङको क्रममा ११७७ जनाको स्वाब लिइएको छ । जसमध्ये आधाको रिपोर्ट आइसकेको र बाँकीको रिपोर्ट आउने क्रम जारी रहेको बताइएको छ ।