बेलबारी । तीजको बेला भिडभाड र जमघट बढी भएर कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै बेलबारी नगरपालिकाले लकडाउनको अवधि सात दिनलाई थपेको छ ।

कोरोनाको जोखिम कायमै रहेकाले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राख्दै एक हप्ता (भदौ ७ गतेसम्म) लकडाउन थप्ने निर्णय भएको बेलाबारी नगरपालिकाकी उपप्रमुख तारा पराजुलीले जानकारी दिइन् ।

कोरोना रोकथाम सर्वदलिय उच्चस्तरीय नगर समन्वय समितिको आइतबार बसेको बैठक उक्त निर्णय गरेको हो ।

लकडाउनका बेला बैंकहरु भने दिनको ११ बजेदेखि २ बजेसम्म खुल्न दिने र अरु सबै बन्द गर्ने निर्णय भएको छ ।

कोरोना संक्रमणको जोखिम समुदायमै फैलने सम्भावना बढेको भन्दै बेलबारी नगरपालिकाले गत साउन २२ गते मध्यरातिदेखि लकडाउन घोषणा गरेको थियो । पहिलो पटक घोषणा भएको लकडाउनको अवधि आइतबार रातिसम्मको थियो ।

नगरपालिकाले तीजमा पाहुना नबोलाउन र भिडभाड नगर्न आग्रह गरिएको पराजुलीले जानकारी दिइन् ।