झिलझिले, झापा । कोरोना संक्रमणको त्रास समुदायमा फैलन थालेपछि जिल्लाको शिवसताक्षी नगरपालिका पनि लकडाउन हुने भएको छ ।

कार्यपालिकाको कार्यालयमा आज सम्पन्न बैठकले सोमबार राति १२ बजेदेखि एक हप्ता अर्थात भदौ १० गतेसम्म आंशिक बन्दाबन्दि गर्ने निर्णय गरेको हो । शिवसताक्षी नगरमा यसअघि साप्ताहिक हाट बजार नगरस्तरीय समन्वय समितिले बन्द गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाको बोर्ड बैठकमा खाद्यान्न लगायत अन्य आवश्यकीय वस्तुको खरिदका लागि बिहान आंशिकरुपमा खुकुलो पारिने नगरपालिकाका प्रवक्ता नविन इजमले जानकारी दिए । नगरपालिकाको बन्दा बन्दि अवधिभर सामुदायिक विद्यालय पनि बन्द गर्ने निर्णय भएको छ ।

विद्यालयमा पठनपाठन नभएपनि शिक्षकहरु विद्यालयमा आउने जाने गरेका थिए । नगरपालिकाले आफ्ना कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाइ अनिवार्य परिचयपत्र साथमा लिएर मात्र कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ ।

लकडाउन अवधिभर नगरभित्रका बजारमा औषधि पसल बाहेक अन्य पसलहरू सञ्चालन गरे कारवाही गरिने प्रवक्ता जानकारी दिएका छन्। लकडाउ अवधिभर नगरवासीलाई बिनाकारण घर बाहिर ननिस्कन नगरकार्यपालिका ले पनि अनुरोध गरेको छ ।

शिवसताक्षीका ११ वटै वडा कार्यालयहरुबाट दैनिक रूपमा सम्पादन हुँदै आएका प्रशासनिक कार्यहरु पनि आंशिक रुपमा बन्द गरिएका छन् ।