झापा । नेपाल विद्युत प्राधिकरणका ३ र जीवन विकास समाजका २ गरी पाँच कर्मचारीसहित झापामा आज सात जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपाल विद्युत प्राधिकरण दमकका पाँच जना कर्मचारीमा संक्रमण देखिएको तीन दिनपछि प्राधिकरणकै थप तीन कर्मचारीलाई संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरु दमकका एक जना र शिवसताक्षी नगरपालिकाको ब्लुचौक वितरण केन्द्रका दुई कर्मचारी रहेका छन् ।

ब्लुचौक वितरण केन्द्रका संक्रमित कर्मचारीलाई क्वारेन्टाइनमा बोलाई आइसोलेसन सेन्टर लाने तयारी भइरहेको शिवसताक्षी नगरपालिकाका प्रवक्ता नवीन इजमले बताए ।

त्यस्तै विद्युत प्राधिकरण दमकका थप एक जना कर्मचारीलाई आज संक्रमण पुष्टि भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए ।

त्यस्तै दमकमा होम क्वारेन्टाइनमा बसेका एक जना पुरुषमा पनि आज कोरोना देखिएको छ । उनी भारतबाट फर्केर होम क्वारेन्टाइनमा बसेको भट्टराईले बताए ।

साउन २८ गते ९८ जनाको स्वाब संकलन गरी पठाउँदा ६ जनाको रिपोर्ट पोजिटिभ आएको अधिकृत भट्टराईले जनाएका छन् ।

त्यस्तै कनकाई नगरपालिकामा पनि एक जनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । (प्रतिदिनबाट)