झापा । अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ का लागि पारित गरेको नीति, कार्यक्रम र बजेट राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेको छ ।

नगरप्रमुख हरिकुमार रानाले आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी नगरको नीति कार्यक्रम र बजेट उल्लेख भएको अर्जुनधारा नगरको राजपत्र सार्वजनिक गर्नुभएको हो ।

सो अवसरमा वितरित अर्जुनधारा राजपत्रमा भनिएको छ, ‘२०७७ साल असार १० गतेबाट २६ गतेसम्म सञ्चालन भएको सातौं नगरसभाले पारित गरेका वार्षिक नीति तथा कार्यक्रम, ऐन तथा विशेष निर्णयहरु सम्वन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ ।’

राजपत्र सार्वजनिक गर्दै मेयर रानाले ७९ करोड, ६३ लाख ४१ हजार रुपैयाँको बजेट चालु आर्थिक वर्षमा कार्यान्वयन हुने उहाँले बताउनुभयो ।

‘हामीले अर्जुनधारा नगरलाई कृषि र पशु विकासमा अगाडि बढाउने सोचेका छौं’, मेयर रानाले भन्नुभयो, ‘किसानलाई नै प्रतिफल दिने गरी नगरस्तरीय एउटा सहकारी सञ्चालन गर्ने तयारी गरेका छौं ।’

सो अवसरमा नगरका कार्यक्रमबारे प्रदेश सांसद बृख प्रधान, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, योजना अधिकृत हिमराज सेढाईं, स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत लगायतले नगरले अवलम्वन गरेका कार्यक्रमबारे प्रष्ट्याउनु भएको थियो ।