काठमाडौ । नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

गत बुधबार प्रतितोला एक लाख ४०० पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ६०० ले घटेको छ ।

महासंघका अनुसार आज पनि छापावाला सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला र ९६ हजार ३०० तोकिएको छ ।

मंगलबार छापालावा सुनको मूल्य प्रतितोला ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० थियो । यस्तै चाँदी पनि प्रतितोला १० ले घटेर तोलाको एक हजार ३१० पुगेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ । पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो । नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५०० र तेजाबी सुनको मूल्य एक लाख तीन हजार पुगेको थियो ।