काँकरभिट्टा । झापाको काँकडभिट्टास्थित मेची भन्सार नाकाको आयात निर्यातको अन्तर ठूलो देखिएको छ । काँकडभिट्टा हुँदै निर्यात भएका वस्तुको तुलनामा आयात भएका वस्तुको व्यावसायिक मूल्य उच्च छ ।

गत आर्थिक वर्षमा काँकडभिट्टा नाका हुँदै नेपालबाट ८ अर्व ६२ करोड रुपैयाँको मालवस्तु भारत लगायत तेस्रो मुलुकमा निर्यात भएको छ । नेपालले काँकडभिट्टा नाका हुँदै ३९ अर्व ५५ करोड मूल्य बराबरको सामान भारत र तेस्रो मुलुकबाट आयात गरेको छ ।

काँकडभिट्टा नाकाको आयात र निर्यातको अवस्था हेर्दा ३० अर्ब ९३ करोडको व्यापार घाटा देखिएको प्रमुख भन्सार अधिकृत ध्रुवकुमार विश्वकर्माले बताए । निर्यात भएका बस्तुमध्ये नेपालको कृषिजन्य उत्पादन अलैँचीको हिस्सा सबैभन्दा बढी छ । कुल निर्यात रकममध्ये तीन अर्व ९९ करोड रुपैयाँ अलैँची व्यापारबाट नेपाल भित्रिएको छ ।

काँकडभिट्टा नाकाबाहेक विराटनगर भन्सार नाकाबाट पनि अलैँची निर्यात हुने गर्छ । अलैँचीको विकास, प्रवद्र्धन र बजारीकरणमा सरकारले सहयोग गर्ने हो भने व्यापार घाटा कम हुन सक्ने नेपाल अलैँची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई बताउँछन् ।

पूर्वी नाका हुँदै निर्यात भएका वस्तुमध्ये चिया दोस्रो नम्बरमा पर्छ । गतवर्ष २ अर्व १२ करोड रुपैयाँको चिया भारत निर्यात भएको छ । अघिल्ला वर्षको तुलनामा चियाको निर्यात घटेको हो । चिया, अदुवा अलैची, अम्लिसो लगायतका नेपालका कृषिजन्य उत्पादनले भारतीय बजारमा राम्रै मूल्य पाएका छन् ।

भारतबाट ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात हुन्छ । मेची भन्सारको कुल राजस्वको ४५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको छ । १० अर्व ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको मेची भन्सारको तथ्याङ्कले देखाएको छ ।