बिर्तामोड । बिर्तामोडमा रहेको कृषि उपज बजारस्थल (कृषिथोक) तेस्रो पटक पु्रस्कृत भएको छ । बिर्तामोडको कृषि उपज बजारस्थल यस वर्ष देशको दोस्रो उत्कृष्ट बजारको रुपमा पुरस्कृत भएको हो ।
पहिलो स्थान धरानले हासिल गरेको छ । प्रत्येक वर्ष विश्व खाद्य दिवस अक्टोबर १६ का अवसरमा गरिने कार्यक्रममा देशभरिका १० वटा कृषि उपज बजारस्थलहरूको प्रतिस्पर्धामा बिर्तामोड दोस्रो भएको हो ।
प्रत्येक वर्ष संघीय कृषि मन्त्रालयबाट विश्व खाद्य दिवस (अक्टोबर १६) का अवसरमा नेपालभरिका कृषि थोक बजारमध्ये उत्कृष्ट बजारको रूपमा यो पुरस्कार वितरण गरिन्छ । यसभन्दा अघि २०६० र २०६६ सालमा बिर्तामोडले प्रथम स्थान पाएको थियो ।
त्यस्तै ४०औँ खाद्य दिवसका अवसरमा बिर्तामोडका खगेन्द्र महतोले यस वर्ष उत्कृष्ट व्यवसायीमा दोस्रो स्थान हासिल गरेका छन् । यसअघि बिर्तामोडका तिलबहादुर विष्ट देशकै उत्कृष्ट व्यवसायी घोषित भएका थिए ।
बिर्तामोडको कृषि उपज बजारस्थलले देशभरिकै दोस्रो भई तेस्रो पटक उत्कृष्ट पुरस्कार पाउन सफल भएको कृषि उपज बजारस्थल बिर्तामोडका व्यवस्थापक सिताराम नेपालले जानकारी दिएका छन् ।