पाँचथर । पाँचथरका कृषकहरु निर्वाहमुखी पशुपालनभन्दा व्यावसायिक पशुपालनतर्फ आकर्षित बन्दै गएका छन् । थोरै लगानीमा पनि मनग्य आम्दानी हुन थालेपछि युवापुस्ता अहिले विदेश त्यागेर स्वदेशमा नै पशुपालनमा रमाएका हुन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका दोबाटेका राजेन्द्रप्रसाद भण्डारीलाई वैदेशिक रोजगारीमा जान मन नलागेको भने होइन । सँगैका साथी खाडीदेखि युरोपियन मुलुकसम्म पुगेर कमाएको पैसाले वर्षेनि खेतबारी जोड्दा आफूले पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने सोच उनमा पनि पलाएको थियो ।

तर, बूढा भएका ‘बा’लाई हेरचाह गर्ने कोही नभएपछि उनी वैदेशिक रोजगारीमा जान पाएनन् । ‘बा’को हेरचाहसँगै घरधन्दा र घाँस–दाउरामै उनको दिनचर्या बितेपछि आर्थिक उपार्जनको कुनै माध्यम नै भएन । बुढ्यौलीले थलिएका बुवाको निधन हुनु र हुर्कंदै गरेका लालाबालाको भविष्यप्रतिको चिन्ताले च्यापेपछि अन्ततः उनले बाख्रापालन गर्ने अठोट गरे ।

बाख्रापालन सुरु गरेको पहिलो वर्ष नै छ लाख रुपैयाँ आम्दानी गरेपछि व्यावसायिक पशुपालनमा उत्साहित बनेका भण्डारीले अहिले लोकल कुखुरादेखि भैंसीसम्म पालन गर्दै मासिक एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । उनले गत वर्ष बाख्रापालनबाट मात्रै छ लाख रुपैयाँ आम्दानी गरेको बताए ।

कामले काम सिकाउँछ भनेझैं आफैंलाई परेपछि विकल्पको खोजीमा रहेका भण्डारीले अहिले आफूमात्र होइन, गाउँका युवालाईसमेत व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्दै आएका छन् ।

फाल्गुनन्द गाउँपालिकाले ६० हजार रुपैयाँको लागतमा खरिद गरिदिएको जमुनापारी प्रजातिको बीऊ बोको गाउँका सबैलाई दिएर सहयोग पुर्‍याउँदै आएका छन् ।

पाँचथरको दोबाटेका भण्डारीकै सिको गर्दै अहिले अन्य युवालेसमेत परम्परागतरुपमा पालिँदै आएको बाख्रापालनलाई त्यागेर व्यावसायिक बाख्रापालनमा चासो देखाएका छन् ।भण्डारीजस्तै दोबाटेकै देवीचन्द्र गड्तौला, खोमनाथ भण्डारीसहित अहिले सिंगो दोबाटेवासी व्यावसायिक बाख्रापालनमा लागेका छन् ।

बाख्रापालनका लागि प्रशस्त खुला ठाउँ हुनु, डालेघाँस प्रशस्तै पाइनु, अम्रिसो, धुस, दुदिलो, गोगनजस्ता पोसिलो घाँसका कारण बाख्रा सप्रिनु र बिक्रीका लागिसमेत समस्या नरहेपछि यहाँका कृषक खुसी देखिएका छन् ।

स्थानीय तहको पहलमा गाउँ-गाउँमा मोटरबाटो पुग्नु, त्यहाँ उत्पादित कृषिजन्य सामग्रीले बजार पाउनु र व्यावसायिक बाख्रापालनप्रति सर्वसाधारण आकर्षित हुनुले जिल्लाकै दुर्गम मानिएको साविक आङ्सराङ ७, दोबाटेका कृषक निर्वाहमुखी पशुपालनभन्दा व्यावसायिकतातर्फ केन्द्रित भएको देखिन्छ ।