भद्रपुर । लागुऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परी कारागार चलान भएका छन् । कारागार चलान हुनेमा बिर्तामोड ५ का २१ वर्षिय कालु भनिने विमश थापा रहेका छन् ।

झापा जिल्ला अदालत भद्रपुरको २०७५ असोज १४ गतेको फैसला अनुसार लागुऔषध मुद्दाका प्रतिवादी थापालाई ७ महिना कैद र ६ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

ताेकिएको सजाय तथा जरिवाना ठहरिएकोमा उनले राखेको धरौटीबाट सदर भएको र कैदको हकमा १ महिना २६ दिन असुल भई बाँकी ५ महिना ४ दिन बेरुजु रहेको अबस्थामा उनी फरार रहेका थिए ।

खोजलतास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंसिर १२ गते उनलाई आफ्नै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको र फैसला कार्यान्वयनको लागि साेमबार झापा जिल्ला अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।