शान्त वातावरणमा रहेको कन्ट्री ओसिस ट्रेकिङ एजेन्सी एण्ड भिलेज रिसोर्ट ।

राजगढ । आफ्नै गाउँठाउँमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापा बाह्रदशी ५ का एक युवाले करिब डेढ करोड रुपैयाँको लगानीमा रिसोर्ट खोलेका छन् । पूर्वी नेपालमा पर्यटन व्यवसायको राम्रो सम्भावना हुँदाहुँदै पछाडि परेको कुरालाई मनन गरी ४३ वर्षीय मनोहर सुवेदीले एकल लगानीमा कन्ट्री ओसिस ट्रेकिङ एजेन्सी एण्ड भिलेज रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

पूर्व पश्चिम राजमार्गको चारपाने चोकदेखि ९.२ किलोमिटर दक्षिण, मुक्तिचोकबाट गोलधापहुँदै १४ किलोमिटर पश्चिम र भद्रपुर विमानस्थलबाट हल्दिबारीुँदै १४ किलोमिटर पश्चिम शान्त र एकान्त ठाउँमा सो रिसोर्ट खोलिएको हो । बाह्रदशी ५ र हल्दिबारी १ को सिमाना सिर्जना चोकमा अवस्थित करिव ७ कठ्ठा क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा ५ वटा एसी-नन एसी कोठा, ३ सय जना अट्ने पार्टी हल, रेष्टुरेन्टलगायतका सुविधाहरु रहेको संचालक सुवेदीले बताए ।

उनले आफ्नो रिसोर्टमा गाउँले परिवेशमा आधुनिक सुविधा उपलब्ध रहेको जानकारी दिए । ‘करिव ९० प्रतिशत नेपाली जनता शहरमुखी भएको अबस्थामा पछि परेको गाउँको सामाजिक र आर्थिक विकासको लागि आफ्नो गाउँमै केही गरुँजस्तो लाग्यो’, उनले भने । सुवेदीले अंशमा पाएको २ विगाह जग्गामध्ये ७ कठ्ठामा रिसोर्ट खोलेका हुन् ।

गत वर्षको असोजमा उनले आफ्नो रिसोर्ट उद्घाटन गरेका थिए । तर, रिसोर्ट खोलेको केही महिनामै कोरोना महामारी र लकडाउनका कारण उनको व्यवसाय प्रभावित बन्यो । अब लकडाउन हटेसँगै रिसोर्टमा पर्यटकहरु विस्तारै आउन थालेको उनी बताउँछन् ।

रिसोर्ट सञ्चालनसँगै उनले ट्रेकिङको सुविधा पनि राखेका छन् । विशेषगरी इलामको सन्दकपुर जान चाहनेका लागि ट्रेकिङको सुविधा उपलब्ध भएको बताउने उनले आफूसँग नेपालका विभिन्न स्थानको टुर प्याकेज पनि रहेको जानकारी दिए ।
‘पहिलो सिजनमा ४ वटा ट्रेकिङको बुकिङ थियो, लकडाउनले प्रभावित भयो’, उनले भने, ‘भर्खरै इन्क्वायरी आएको छ तर बुकिङ चाहिँ भएको छैन ।’

भारतको दार्जीलिङमा अध्ययन गरेका सुवेदीले काठमाडौंको गोठाटारमा शिक्षण पेशा गरेका थिए । २१ वर्षको शिक्षण पेशालाई छोडेर उनी पर्यटन व्यवसायमा होमिएका हुन् । ‘दार्जीलिङको परिवेशमा अध्ययन गरेकाले मलाई सानैदेखि यो क्षेत्रमा आउने रहर थियो’, उनले भने, ‘पोखराका थ्री सिस्टर्स ट्रेकिङ एण्ड एड्भेन्चरबाट म इन्स्पायर भएको हुँ ।’

आफ्नै गाइड राखेका सुवेदीको महिला ट्रेकिङ गाइड उत्पादन गर्ने भावी योजना छ । टुरमा भने उनी आफैँ जाने गर्छन् । लोकल कुखुरा, हाँस, माछाजस्ता शहरमा पाउने सबै किसिमका परिकार आफ्नो रिसोर्टमा उपलब्ध रहेको बताउँदै उनले खाडी खनेर पर्यटकहरुलाई फिसिङको सुविधा दिने र मारेको माछा पकाएर खुवाउने योजना रहेको सुनाए ।

स्थानीय जातजातिको संस्कार संस्कृतिलाई नजिकबाट नियालेका उनले आफ्नो रिसोर्टको माध्यमबाट राजवंशी, सन्थाललगायतका समुदायको संस्कार संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पुराउने सोच पनि रहेको जानकारी दिएका छन् ।