भद्रपुर भन्सारकाे ढाट ।

राजु पौडेल,
झापा । भन्सार विभागले झापाको भद्रपुर भन्सार कार्यलयका कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । विभागले एक जना कर्मचारी निलम्बन गरेको छ भने भन्सार प्रमुख फडिन्द्र खतिवडासहित सबै कर्मचारीलाई लिखित स्पष्टीकरण सोध्दै सरुवा समेत गरेको छ ।

भद्रपुर भन्सार कार्यालयमा व्यापारी, तस्कर र कर्मचारीकै मिलेमतोमा राजस्व चुहावटको धन्दा चलिरहेको समाचार सार्वजनिक भएको थियो । सेटिङमा नक्कली जीएसटी अर्थात् गुड्स एण्ड सर्भिस ट्याक्स बील बनाएर भन्सार कागजात मिलाउने, कम राजस्व तिरी बढी सामान लैजाने र रातारात तस्करका सामान कटाउन कर्मचारी नै सेटिङमा बस्ने गरेको तथ्य खुलेको थियो ।

त्यसपछि विभागले निर्देशक भीमप्रसाद अधिकारीको नेतृत्वमा अनुसन्धान टोली नै गठन गरेको थियो । टोलीले भद्रपुर भन्सारको स्थलगत अनुगमन गरी थप अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक चरणमै भन्सारका नायब सुब्बा डोरराज सुनुवारलाई विभागले निलम्बन गरेको छ ।

त्यस्तै, भन्सार प्रमुख खतिवडा र जाँचपास सम्लग्न सबै ५ जना नायब सुब्बा र ५ जना कार्यालय सहयोगीहरु र अन्य १ जनालाई समेत लिखित स्पष्टिकरण सोध्दै सरुवा गरिएको छ ।

‘हामीले टोली नै बनाएर स्थलगत अनुसन्धान सुरु गरिसकेका छौँ’, भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘प्रारम्भिक चरणमा दोषी देखिएका कर्मचारीको निलम्बन, स्पष्टीकरण सोध्ने र सरुवा गर्ने जस्ता विभागीय कारवाही पनि गरिसकेका छौँ ।’

भन्सार प्रमुख खतिवडालाई कैलाली भन्सार कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै भद्रपुर भन्सार कार्यालयका लागि वीरगन्ज भन्सार कार्यालयबाट प्रमोद पौडेल आउने भएका छन् । खतिवडाको घर राजगढ हो भने पौडेल भद्रपुर ७ अञ्जनीमोड निवासी हुन् ।

त्यसैगरी सुब्बातर्फ वीरेन्द्रकुमार पाण्डे वीरगन्ज भन्सारमा, विकास दाहाल विराटनगर रानी भन्सार र रेवती गिरीको नेपालगन्ज भन्सार कार्यालयमा सरुवा गरिएको छ ।