ताप्लेजुङ । चरन अभाव, जंगली जनावरको आक्रमण तथा जनशक्तिको अभाव हुँदा ताप्लेजुङमा भेँडा पालन घट्दै गएको छ । भेडा पालनलाई नै मुख्य आम्दानीको स्रोत बनाउँदै आएका जिल्लाका किसानहरु अन्य पेशामा पलायन हुन थालेपछि भेँडा पालन लोप हुने अवस्थामा पुगेको हो ।

एक दशक अघिसम्म उच्च पहाडी क्षेत्रमा भेँडाका बथान बाक्लै देखिन्थ्यो । भेँडा पालकहरु भेडाको लाम लगाएर घुमन्ते शैलीमा गोठ सार्दे कहिले उच्च पहाडी क्षेत्रमा त कहिले बेसी भेगमा ओहोर दोहोर गर्दथे । बहु उपयोगी र आम्दानीको निक्कै राम्रो श्रोतका रुपमा भेँडालाई लिने गरिन्थ्यो ।

तर, आजकल भेँडा पाल्नेहरु अन्य पेशामा पलायन हुन थालपछि न्यानो उनदेखि पोषिलो दूध दिएर गुन लगाउने भेँडा पालन व्यवसाय संकटमा पर्न थालेको छ । भेँडी गोठहरु लोप हुने अवस्थामा पुगेका छन् ।

वर्षेनी मानिसहरु भेँडा पालन छाडेर अन्य पेशामा आवद्ध हुँदै गए पछि भेँडी गोठ लोप हुने अवस्थामा पुगेको देखिन्छ ।खर्कहरु मासिँदै गएको र भएका कतिपय ठाउँमा खर्च धेरै तिर्नुपर्ने, जंगली जनावरको आक्रमण लगायतले भेँडा पालनतर्फ किसान निरुत्साहित छन् ।

सरकारले भेँडा पाल्नेहरुका लागि पछिल्लो पटक अनुदानलगायतका केही योजनाहरु पनि ल्याएको छ । तर, अनुदान खास व्यवसायीको हातमा नपर्ने तथा केही पाएको राहत पनि पर्याप्त नभएको उनीहरुको गुनासो छ ।

अर्कातिर भेँडा पालन निक्कै झन्झटिलो पेशा भएकाले पनि अहिलेको पुस्ता अन्य पेशा र व्यवसायमा पलायन भइरहेका छन् । पुख्र्यौली शैलीमा भन्दा आधुनिक तवरले भेँडा पालन गर्ने वातावरण बने युवाहरु यसैमा आकर्षित हुने पनि देखिन्छ ।

तर, यसका लागि राज्यले विशेष योजनासहित सहज र अनुकुल वातावरण बनाउन जरुरी छ । राज्यले आफ्नै भिर पाखामा भेँडासँग रमाउने वातावरण बनाए रोजगारीका लागि अर्कैको मुलुकमा जाने क्रम रोकेर युवाहरुलाई स्वदेशमै आम्दानी गर्ने राम्रो माध्यम बन्न सक्छ । इमेज खबरबाट