व्यावसायिक प्याज खेतीका लागि बेर्ना लगाइँदै ।

केशव चापागाईं,
शरणामती (झापा) । झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका वडा नम्बर ६ का किसानले व्यावसायिक प्याज खेती थालेका छन् ।झापा गाउँपालिका ६ को चन्द्रकित्ता आसपासमा २२ बिगाह जग्गा भाडामा लिई प्याज खेती गरिएको हो ।

फिदिम नगरपालिका ११ का सुमन न्यौपाने, बुद्धशान्ति ३ झापाका केशब भुर्तेल र झापा गाउँपालिका ६ का सोमनाथ प्रसाईं मिलेर व्यावसायिक प्याज खेती थालिएको छ । कोरियन प्रबिधिलाई कोरियामा सिकेर आएर नेपालमै व्यावसायिक प्याज खेती गर्न थालिएको केशब भुर्तेलले बताउनुभयो।

स्थानीय स्तरमा हुने प्याजको मागलाई ध्यानमा राखी यति ठुलो मात्रामा प्याज खेती गरिएको भुर्तेल बताउनुहुन्छ।जमिनमा प्याजका बेर्ना लगाउँदै गरेकाले सबै क्षेत्रफलमा प्याज रोपिसक्दा यसको लगानी करिव ४० देखि ४५ लाख पुग्ने भुर्तेलको अनुमान छ।

२२ बिगाह १० वर्षका लागि वर्षको प्रति बिगाह ३० मन धान दिने सर्तमा लिजमा लिएर आफूहरुले व्यावसायिक प्याज खेती गर्न थालेको अर्का कृषक सोमनाथ प्रसाईले बताउनुभयो । प्रसाईले भन्नुभयो, ‘प्रति बिघाह दस हजार केजी प्याज फलाउने लक्ष्य छ, अब के हुन्छ ?’ प्याज खेती गरिरहँदा प्याजका बेर्ना रोप्न, माटो बनाउन, पानी लाउन कम्तीमा ४० जनालाई रोजगारी दिएको प्रसाईले बताउनुभयो।

अहिले परीक्षणमा २२ विगाहमा खेती गरिए पनि पछि ५० बिगाह क्षेत्रफलसम्म खेती गरिने लक्ष्य रहेको प्रसाईले जानकारी दिनुभयो । झापामै पहिलो नमुना प्याज खेती आफ्नो क्षेत्रमा भित्रिँदा यहाँका स्थानीय खुसी भएका छन् । कोरियन प्रबिधिबाट बाँझो रहेका जग्गामा प्याज खेती गर्दा गौरव महसुस भएको स्थानीयले बताएका छन् ।

भारतको निर्भरतामा बाच्नु परेकोले अब यसरी नेपालमै खेती हुदाँ प्याजमा आत्मनिर्भरता बढेको स्थानीय कमलप्रसाद भट्टराईले बताउनुभयो । भट्टराईले यसरी व्यावसायिक खेतीले रोजगारी समेत बढाएको भन्दै खुसी व्यक्त गर्नुभयो।

खेती सुरु भएपछि रोजगारी पाएकोमा स्थानीय रानी हस्दाले खुसी व्यक्त गर्दै भन्नुभयो, ‘नजिकै काम पाइएको छ, काम गर्न थालेको पनि हप्ता दिन भयो, हामी खुसी छौ ।’ यसैबीच व्यावसायिक प्याज खेतीको विधिवतरुपमा उद्घाटन गरिएको छ । स्थानीय टीकाप्रसाद ओझाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा झापा गाउँपालिका ६ का वडाध्यक्ष हरिबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

प्याज गानो वर्गमा पर्ने प्रमुख तरकारी बाली हो । नेपालमा १७ हजार ७४० हेक्टर जमिनमा प्याजको खेती गरिन्छ । वार्षिक उत्पादन २ लाख ५४ हजार १०२ मेट्रिक टन हुँदै आएको छ । नेपालको सप्तरी, बारा, सिराहा, रौतहट, कैलाली, रूपन्देही, धनुषा, सर्लाही र खोटाङ्मा प्याजको व्यावसायिक खेती गरिँदै आए पनि झापामा भने यो नौलो मानिएको छ ।

खास गरेर मङ्सिरदेखि पुष महिनामा प्याज लगाउने गरिन्छ । यी महिनामा उत्पादन अत्यधिक हुनाले प्याज खेती गरेका किसानहरुले उचित बजार भाउ पाउँदैन । हाल आएर नेपालमा बेमौसमी प्याज खेती प्रविधिको विकास भएको छ, जसले गर्दा नेपालमा दशैँको बेलामा प्याजको पातलाई बजारमा पुर्याएर पनि राम्रो आम्दानी लिन थालिएको किसानहरु बताउँछन् ।