फाइल तस्वीर ।

इलाम । देशकै पहिलो इलामको चिया बगानको उचित संरक्षण नहुँदा बगान नै मासिने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।संरक्षणको लागि प्रभावकारी व्यवस्था नहुँदा सबै चिया बगान नै मासिने हो की भन्ने चिन्ता स्थानीय किसानहरुले व्यक्त गरेका हुन् ।

विभिन्न स्थानमा चिया बगान मासिन थाल्दा पनि बगान व्यवस्थापनमा स्थानीय निकायहरुको ध्यान जान सकेको छैन । २०५७ मा सरकारले इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापाका बर्ने, बाह्रदशी र टोकला चिया बगान त्रिवेणी साङ्घाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहने गरी भाडामा दिएको छ ।

इलाम सदरमुकाममा रहेको चियाबगान मात्र होइन माई नगरपालिका-९ मा रहेको बगान क्षेत्र पनि मासिँदै गएको छ ।इलाम नगरपालिकाको पहिलो नगरसभाले इलाम चिया बगान स्थानीय सरकार मातहत ल्याउन पहल गर्ने निर्णय गरिसकेको छ भने माई नगरपालिकाले सरकारी स्वामित्वका सोक्तिम र चिलिमकोट चिया बगान सरकारलाई फिर्ता गराउनुपर्ने निर्णय चौथो नगरसभाबाट गरेको छ ।

सूर्योदयका नगर प्रमुख रणबहादुर राई र माई नगरपालिकाका प्रमुख दीपक थेबेले देशकै इतिहासका रूपमा रहेको चिया बगान निजी क्षेत्रबाट सरकारको मातहतमा नल्याए देशकै इतिहास मेटिने बताउनुभयो ।

यसैबीच, बगान सञ्चालनको मजदूर आन्दोलन, घट्दो श्रमिक जस्ता कारणले पनि कतिपय बगानलाई चाहेर पनि पुरानो अवस्थामा पुुर्याउन नसकिएको तथा बगानभित्र बाटो र संरचना बनाउँदा उत्पादन घटेको साङ्घाई ग्रुुपका सुवास साङ्घाईले बताउनुभयो ।