अर्जुनधारा । झापाको अर्जुनधारामा लागत साझेदारीमा पशुपंक्षी प्रबद्र्धन कार्यक्रम सञ्चालन हुने भएपछि बंगुर पालक कृषक सम्मिलित बंगुर व्यवसायी समूह गठन गरिएको छ ।

बंगुर पालक कृषकहरुको एक भेलाले पदम सुनुवारको अध्यक्षतामा २३ सदस्यीय अर्जुनधारा बंगुर व्यवसायी समूह गठन गरेको हो । नवगठित समूहको उपाध्यक्षमा किरण जवेगु, सचिवमा दिपक दुलाल, सहसचिवमा सुमित्रा लिम्बू र कोषाध्यक्षमा निर्मला बान्तवा राई चयन भएका छन् । बाँकी १८ जना सदस्य रहेका छन् ।

साझेदारीको अवधारणाअनुरुप स्थानीय पूँजी परिचालनमार्फत आय आर्जन तथा रोजगारीका अवसर सिर्जना गरी पशुपालक कृषकहरुको बचत सुनिश्चित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन हुने नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राईले बताए ।

उक्त कार्यक्रम सञ्चालनको लागि अनुमानित बजेट २० लाख रुपैयाँमध्ये सशर्तबाट नौ लाख ५३ हजार रुपैयाँ र नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाबाट पाँच लाख रुपैयाँ विनियोजन भएको प्रमुख राईले जानकारी दिए । निर्देशिकामा उल्लेख भएअनुसार बाँकी रकम कार्यक्रमका सहभागी कृषकहरु आफैँले लगानी गर्नुपर्ने प्रमुख राईको भनाइ छ ।

शाखाको प्रत्यक्ष समन्वय र सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमको बजेटबाट बंगुर खरिद, खोर निर्माण सुधार, आहारा, औषधि तथा उपचार, कृषक अवलोकन भ्रमण, तालिमलगायतमा खर्च गरिने बताइएको छ । सिमान्तकृत, दलित, महिला, विदेशबाट फर्केका युवालगायत लक्षित वर्गहरुलाई समूहमा आवद्ध गरी परिचालन गर्नुपर्ने कार्यक्रममा सहभागी कृषकहरुले न्यूनतम पाँच माउ बंगुर पाल्नुपर्ने प्रमुख राईले जानकारी दिए ।