प्रकाश लिम्बु,
तेह्रथुम । गाउँभरी अमला, लप्सी र मेल धेरै हुँदा कुहिएर त्यसै खेर गइरहेको हुन्थ्यो । न किन्न कोही आउथ्यो, न त बिक्री र त्यसको सदुपयोग नै गर्न सकिन्थ्यो । उत्पादन भए पनि बजार नपाउँदा बर्षौंदेखि फलफूलहरू खेर गइरहेको थियो । बजारमा खरिद बिक्री नभएपछि आम्दानी हुन्छ भन्ने आश पनि मरिसकेको थियो । बारीको गह्राहरूमा नास भएर जान्थ्यो । तर, अहिले अवस्था फेरिएको छ ।

तेह्रथुमको छथर गाउँपालिका–५ मा खेर गइरहेको फलफूल प्रशोधन गर्ने उद्योग स्थापना हुँदा किसानहरूले त्यस्ता फाल्नुपर्ने फलफूलबाट आम्दानी लिन थालेका छन् । यतिबेला यहाँ उत्पादन भएको अमला, लप्सी र मेलबाट आम्दानी हुन थालेपछी हर्षित भएको किसान कमलबहादुर कार्कीले बताउनुभयो ।

जताततै फोहोर मात्रै भएको फलफूलहरू यतीबेला मोहोर दिन थालेको छ । रोजगारका लागी विदेशी भूमिमै पुग्नुपर्छ भन्ने मानसिकतालाई चिर्दै गाउँमै केही गर्न युवाहरुले उद्योग स्थापना गरेका हुन् ।

मेहनत, श्रम र लगानी गर्न सके गाउँमै राम्रो आम्दानी लिन सकिन्छ भन्ने युवाहरुको विश्वास छ । खेर गइरहेको फलफूललाई बजारीकरण गर्ने तथा आम्दानीको स्रोतको रूपमा उद्योग स्थापना गरेको उद्योगी एनके ढकालको भनाइ छ ।

गाउँमा उत्पादन भएको फलफूललाई प्रशोधन गरी बजारीकरणको तयारी भइरहेको छ । उद्योग स्थापनासँगै यहाँका स्थानीय युवाहरूले रोजगारी पनि पाएका छन् । गरे के सम्भव छैन भन्ने गतिलो उदाहरण उद्योगले दिएको सामाजिक अभियन्ता राम शिवाकोटी बताउनुहुन्छ ।

युवाहरूको दश लाख रुपैयाँ लागानीमा स्थापना गरिएको उद्योग अहिले गाउँकै लागि उदाहरण बनेको छ । उद्योग स्थापना सँगै यहाँ उत्पादित फलफूललाई बजारीकरणका लागि समेत सहज भएको छ । उद्योगलाई निरन्तरता दिन सके यहाँका स्थानीयहरूले रोजगारीसँगै कृषिउपजको उत्पादनमा समेत टेवा पुर्याउने देखिन्छ । जसले देशको आयातमा निर्भर अर्थतन्त्रमा थोरै भए पनि मद्दत गर्छ ।