बिर्तामोड । निर्माण क्षेत्रमा ठूलो सँख्यामा कार्यरत राजवंशी महिला श्रमिकहरुको सशक्तिकरणका लागि बिर्तामोडमा पहिलोपटक प्रशिक्षण आयोजना गरिएको छ ।

राजवंशी समाज विकास समिति बिर्तामोड ५ को वडा समितिले आजदेखि दुईदिने सो प्रशिक्षण संचालन गरेको हो । लेवर काम गर्ने राजवंशी महिला श्रमिकहरुलाई लक्षित गरी पहिलोपटक प्रशिक्षण संचालन गरिएको राजवंशी समाज विकास समिति बिर्तामोड ५ की अध्यक्ष रुपा राजवंशीले बताइन् । प्रशिक्षणमा बिर्तामोड नगरपालिका ५ नं वडा कार्यालयको सहयोग तथा साना निर्माणकर्मी संघको सहकार्य रहेको छ ।

असंगठित र अव्यवस्थित रुपमा ठूलो सँख्यामा निर्माण क्षेत्रमा रहेका आदिबासी राजवंशी महिला श्रमिकहरुको अबस्थाका बारेमा जानकारी लिई उनीहरुलाई स्तरीकरण गर्ने उद्धेश्यले कार्यक्रम संचालन गरिएको अध्यक्ष रुपाले बताइन् । बिर्तामोड नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कार्यक्रमको उद्घाटन गर्दै निर्माण क्षेत्रमा बिर्तामोडमा रहेका आदिबासी महिलाहरुको सँख्या र अबस्थाको पहिचान गरी उनीहरुको लागि ठोस कार्यक्रम ल्याउन आवश्यक भएको जोड दिए । उनले त्यसका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

राजवंशी समाज विकास समिति बिर्तामोड ५ की अध्यक्ष रुपाको अध्यक्षतामा भएको कार्यक्रममा राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष जितलाल राजवंशी, बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य सुरेन राजवंशी, साना निर्माणकर्मी संघका अध्यक्ष राजु राजवंशी, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता विमली, न्यूटन्स टोल विकास संस्थाका अध्यक्ष लवकुमार चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राजवंशी समाज विकास समिति बिर्तामोड ५ की उपाध्यक्ष विनु राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको उद्धेश्यमाथि प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन कोषाध्यक्ष अन्जु तिमल्सिना राजवंशीले गरेकी थिइन् । कार्यक्रमको पहिलो दिन जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख कृष्णप्रसाद राजवंशीले सहजीकरण गरेका छन् ।

त्यस्तै दोस्रो दिन साना निर्माणकर्मी संघका प्रमुख सल्लाहकार कृष्ण भट्टराईले सहजीकरण गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । कार्यक्रममा बिर्तामोड ५ का २० जना राजवंशी महिला निर्माण श्रमिकहरुको सहभागिता रहेको छ । बिर्तामोड क्षेत्रमा ५ हजारको सँख्यामा आदिबासी महिला निर्माण श्रमिकहरु रहेको जनाइएको छ ।