झापा । काँकडभिट्टा सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ ट्रान्स नेपाल फ्रेट सर्भिसेस विराटनगर छनोट भएको छ ।

बोलपत्रमा सहभागी पाँच कम्पनीबाट ट्रान्स नेपाल प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्यांकनबाट छनोट भएको हो । कम्पनी छनोट गर्न नेपाल इन्टर मोडल यातायात विकास समिति कार्यालयबाट २०७७ साउन ३२ गते बोलपत्र आह्वान भएको थियो ।

समितिका तर्फबाट कार्यकारी निर्देशक आशिष गजुरेल र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले माघ १४ गते करार सम्झौता गरेका हुन् । उक्त कम्पनीले फागुन १ देखि काम सुरु गर्नेछ ।

पाँच वर्षको करार अवधिको पट्टा बहाल १३ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनी छनोट हुन नसकेका कारण ०६७ असोजदेखि समिति आफैंले आन्तरिक व्यवस्थापनबाट सञ्चालन तथा व्यवस्थापन गर्दै आएको थियो । उक्त बन्दरगाह भारतको कोलकत्ता बन्दरगाहबाट सबैभन्दा नजिकमा पर्छ ।