झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अब प्रत्येक वर्ष पुस ७ गतेलाई बालमैत्री घोषणा दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बिहीबार सम्पन्न सातौँ नगर सभाले सो निर्णय गरेको हो ।

नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगर सभामा पुस ७ गनेलाई बालमैत्री घोषणा दिवसको रुपमा मनाउने भनी गरिएको प्रस्तावलाई नगर सभाले पारित गरेको बताइएको छ ।

यही पुस ७ गते भद्रपुर नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो । भद्रपुर १ नं प्रदेशकै पहिलो बालमैत्री स्थानीय तह बनेको छ भने देशकै पाँचौ बालमैत्री नगरपालिका बनेको छ ।

नगरपालिकाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय र ऐतिहासिक कार्य गरेको रुपमा खुसीयाली स्वरूप पुस ७ गतेलाई बालमैत्री घोषणा दिवस मनाउने निर्णय नगर सभाले गरेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

नगरपालिकाले बालमैत्री सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि-अभिसन्धि एवम् ऐन–कानुनको पालना, बालबालिका सम्बन्धी राष्ट्रिय रणनीतिको पालनालगायत बालबालिकाको हितका ३९ वटा सूचक पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा हुन सफल भएको थियो । १ नं प्रदेशकी पूर्व राज्यमन्त्री जसमाया गजमेरले यही पुस ७ गते एक समारोहका बिच भद्रपुरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्नु भएको थियो ।

नगर सभाले बालबालिकासम्बन्धी रणनीतिक योजनामार्फत नगरभित्रका बालबालिकाको सर्वाङ्गीण विकासका लागि योजनाहरू सञ्चालन गर्ने निर्णय गरेको छ । यसै गरी, नगर सभाले चालु आवको ६ महिने प्रगतिको समीक्षा गर्नुका साथै थप योजनाहरू पनि पारित गरेको थियो ।