अर्जुनधारा । अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिले गुरुयोजनामा प्रस्तावित कार्यक्रमहरु सम्पन्न गर्नका लागि आवश्यक धाम परिसरमा रहेको १० कठ्ठा जमिन खरिद गर्न ‘भूमिदान महाअभियान’ भन्ने अभियान सुरु गरेको छ ।

गुरुयोजनामा प्रस्तावित कार्य सम्पन्न गर्नका लागि थप १० कठ्ठा जमिन आवश्यक पर्ने भएपछि धामले महाअभियान सुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शिक्षासेवी जयनारायण ढुंगाना र पत्नी अञ्जना ढुंगानाले १५ सय वर्गफिट जमिनबराबरको ५ लाख २५ हजार रकम सहयोग गर्दै महाअभियानको उद्घाटन गरेका छन् ।

हाल चार विगाहा १० कठ्ठा क्षेत्रफल रहेको धामका लागि थप १० कठ्ठा जमिन जुटाउन सकेको खण्डमा गुरुयोजनामा प्रस्तावित कार्यक्रमहरु सहजरुपमा सम्पन्न गर्न सकिने हुँदा उक्त अभियान सुरु गरिएको समितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।

समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा ढुंगाना दम्पत्तिले छोरीको नामबाट थप ३०० वर्गफिटबराबरको १ लाख ५ हजार पनि सहयोग उपलब्ध गराए ।

अभियान सुरु भएको पहिलो दिन ८१ परिवारबाट ४३१६ वर्ग फिट बराबर १५ लाख १० हजार ६०० रुपैयाँ सहयोग रकम संकलन भएको समितिका सदस्य शेखर प्रधानले जानकारी दिए । उनका अनुसार अभियानअन्तर्गत १ वर्ग फिटको ३५० रुपैयाँको दरले दाताको इच्छाअनुसार १५०० वर्गफिटको पाँच लाख २५ हजार रुपैयाँसम्म सहयोग रकम तोकिएको छ ।

धामका मूल अर्चक एवम् अभियानका संयोजक अग्निप्रसाद सिग्देलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, सन्तनु ढकाललगायतले अभियान प्रशंसनीय भएको प्रतिक्रिया व्यक्त गरेका थिए । समितिकी उपाध्यक्ष चन्द्रकला भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सदस्य भानुप्रसाद शिवाकोटीले गरेका थिए ।