झापा । नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा सूचीकृत पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा-७ स्थित अर्जुनधारा जलेश्वर धामको गुरुयोजना शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

गत आर्थिक वर्ष ०७६/०७७ देखि नै कार्य शुरु भई आगामी आर्थिक वर्ष ०८०/०८१ सम्म सम्पन्न हुनुपर्ने उक्त गुरुयोजनामा विभिन्न ४८ वटा कार्यक्रम प्रस्ताव गरिएको धाम व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार गट्टानीले जानकारी दिए । सो प्रस्तावित कार्यक्रमहरु सम्पन्न गर्न अनुमानित ७१ करोड सात लाख २७ हजार रुपैयाँ खर्च हुने गुरुयोजनामा उल्लेख गरिएको छ ।

प्रस्तावित कार्यक्रमहरुमा १०८ वटा शिवलिङ्ग, पार्वती मन्दिर, पानीको फोहोरासहितको खडे बाबाको शालिक, पानीको फोहोरासहितको अर्जुनको पूर्ण कदको शालिक, संगीतमय पानीको फोहोरा, उद्यान, पुराण हल, धर्मशाला, अतिथि सदन, आयुर्वेदिक केन्द्र, स्वास्थ्य चौकी तथा प्रहरी सेवा केन्द्र, आकर्षक चन्द्र कुण्ड, संग्राहलयलगायत रहेका छन् ।

धाम परिसरमा हाल जलेश्वर शिवालयको मूल मन्दिर, वाणगंगा पोखरी, पञ्चधारा, लक्ष्मी नारायण मन्दिर, नटराज गणपति मन्दिर, हनुमान मन्दिर, काली नाग मन्दिर, शनि मन्दिर, मोक्षेश्वर शिवलिङ्ग, सूर्य कुण्ड, यज्ञशाला, धान्याञ्चल, गुरुकुल, सन्त निवास, शिव कुटी, श्रवण हल, खडे बाबा पार्क, किरियापुत्री भवन, अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयलगायत रहेका छन् ।

आज नै धाम व्यवस्थापन समितिले गुरुयोजनामा प्रस्तावित कार्यक्रम सम्पन्न गर्नका लागि भूमिदान महाअभियानको नारा लिएर अभियान सुरुवात गरेको छ । अभियानको पहिलो दिन नै १५ लाखभन्दा बढी रकम संकलन भएको समितिका सदस्य शेखर प्रधानले जानकारी दिए ।

उनका अनुसार अभियानअन्तर्गत १ वर्ग फिटको ३५० रुपैयाँको दरले दाताको इच्छाअनुसार १५०० वर्गफिटको पाँच लाख २५ हजार रुपैयाँसम्म सहयोग रकम तोकिएको छ ।

गुरुयोजनामा प्रस्तावित कार्य सम्पन्न गर्नका लागि थप १० कठ्ठा जमिन आवश्यक पर्ने भएपछि धामले महाअभियान सुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शिक्षासेवी जयनारायण ढुंगाना र पत्नी अञ्जना ढुंगानाले १५ सय वर्गफिट जमिनबराबरको ५ लाख २५ हजार रकम सहयोग गर्दै महाअभियानको उद्घाटन गरे ।