इलाम । माईजोगमाई-५ सोयाङका ढकाल दाजुभाइको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको छ।

माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा २१ वर्षीय शेखर ढकाल र १८ वर्षीय प्रवीन ढकालको हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको हो ।

सोयाङ र सिङफ्रिङ फेदी अठारेमा हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न गएका स्थानीय डम्बरबहादुर ढकालका कान्छो छोरा प्रवीन खाल्डोमा डुबेपछि भाइलाई बचाउन गएका साइँलो दाजु शेखरको समेत डुबेर मृत्यु भएको हो । शव निकाली पोष्टमार्टमका इलाम अस्पताल ल्याइएको छ।

बेवारिसे शव फेला
यसैबीच, इलाम माङ्सेवुङ गाउँपालिका वडा नं ६ मावाखोला किनारमा अपरिचित पुरुषको बेवारिसे लास फेला परेको छ।

अन्दाजी ६० वर्षका देखिने शवको अनुहार तथा शरीरको भागमा कीरा औंसासमेत परिसकेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल झापामा पठाइएको छ।