अर्जुनधारा । झापाको अर्जुनधारा-१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा लगाइएको ताला स्वयं अध्यक्ष चक्र तामाङले फुटाएको नेपाली कांग्रेस अर्जुनधारा १ वडा समितिले आरोप लगाएको छ ।

समितिमा आर्थिक अनियमितता भएको भन्दै असन्तुष्ट उपभोक्ताहरुको एक समूहले माघ १८ गते तालाबन्दी गरेको थियो । तर, त्यसको भोलिपल्टै नचिनेका व्यक्तिले ताला फुटाइदिएपछि घटनामा अध्यक्ष तामाङकै संलग्नता रहेको भन्दै कांग्रेस पार्टीको वडा समितिले पत्रकार सम्मेलन गरी आरोप लगाएको हो ।

सम्वादको माध्यमबाट घटनाको अन्तिम किनारा लगाउन उपभोक्ताबाट भएको प्रयासलाई लत्याउँदै अध्यक्ष स्वयंले ताला फोडेर कार्यालय सञ्चालन गरिएको विषयमा पार्टीको ध्यानाकर्षण भएको पार्टी सभापति नेत्रप्रसाद आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उपभोक्ताको तर्फबाट गरिएको असन्तुष्टलाई सम्बोधन गर्नुको सट्टा अध्यक्ष स्वयंले धाकधम्की र रवाफ प्रदर्शन गरी आफ्ना कूकृत्य ढाकछोप गर्न लगाइएको ताला फोर्नेजस्ता हर्क गरिएकोले उक्त कार्यको घोर निन्दा गर्दछौँ ।’ उपभोक्ताका तर्फबाट गरिएको तालाबन्दी र क्रियाकलापमा पूर्ण समर्थन रहेको जनाउँदै पार्टीले आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन सचेत पनि गराएको छ ।

आन्तरिक लेखा समितिको प्रतिवेदनमा उल्लेखित टिप्पणीहरुको आधारमा असन्तुष्ट उपभोक्ताहरुले गत आइतबार लगाएको ताला सोमबार साँझ तोडिएको अवस्थामा भेटिएपछि नेपाली कांग्रेसले उक्त कार्यप्रति आपत्ति जनाउँदै घटनाको निन्दा गरेको हो । पत्रकार सम्मेलनपछि नेपाली कांग्रेस वडा समितिले पुनः समूहको कार्यालय कक्ष र बैठक कक्षमा तालाबन्दी गरेको छ ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी वडा समितिले पनि एक विज्ञप्ति जारी गरी उपभोक्ताहरुको तर्फबाट गरिएका मागहरु तत्काल सम्बोधन गर्न जोडदार माग गरेको छ । विज्ञप्तिमा अध्यक्ष गोविन्द त्रिखत्रीले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी आर्थिक अनियमतता भएको तथ्यपरक बुँदाहरु समावेश गरी उपभोक्ताहरुको तर्फबाट लगाइएको ताला तोड्ने कार्यले समूहमा मुठभेड हुने अवस्था आएको राप्रपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त कार्य निषेधको राजनीति भएकोले सो कार्य अत्यन्त निन्दनीय भएको भन्दै राप्रपा वडा समितिले प्रेस विज्ञप्ति मार्फत् घोर भत्सर्ना र आपत्ति जनाएको छ ।

ताला तोडिएको विषयमा आफूलाई जोडेर आरोप लगाए पनि उक्त आरोपमा सत्यता नभएको समूहका अध्यक्ष चक्र तामाङले प्रष्ट पारेका छन् । उनी भन्छन्, ‘सक्छौ भने ताला तोडेको प्रमाण देखाउ, होइन भने व्यक्तिगत चरित्र हत्या गर्ने कार्य कसैले पनि नगर्नु ।’