बिर्तामोड । विभिन्न संघसंस्थामा आबद्ध सामाजिक व्यक्तित्व पर्शु सिटौलाको गएराति निधन भएको छ ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष, विराट बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष, अनारमनी पव्लिक क्याम्पसका उपाध्यक्ष, विराट भरत विश्रान्तिका कोषाध्यक्ष, दुर्गा मन्दिर निर्माण समितिका अध्यक्ष, सिटौला सेवा समाजका निवर्तमान अध्यक्षलगायतका पदमा रहेर सामाजिक क्षेत्रमा क्रियाशील ५५ वर्षिय सिटौलाको राति ८ बजे ह्रदयघातबाट निधन भएको हो ।

राति साढे ७ बजे शौचालय जाँदा नाक र मुखबाट अचानक रगत बगेर बेहोस भएका उनलाई उपचारका लागि बिएण्डसी हस्पिटल लाँदालाँदै बाटैमा मृत्यु भएको विराट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्र सिटौलाले बताए ।

उनको असामयिक निधनले धेरैजना दुःखी भएका छन् । दिवंगत सिटौलाका श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको आज विहान ११ बजे कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।