अर्जुनधारा । झापाको अर्जुनधारा-७ स्थित अमित खम्बूको घरहुँदै गोसहट्टी जाने बाटोमा थप ५७ मिटर नाला निर्माण सम्पन्न भएको छ । नाला निर्माण सम्पन्न भएपछि योजनाको सार्वजनिक सुनुवाई सोमबार गरिएको छ ।

नाला निर्माण उपेभाक्ता समितिका अध्यक्ष राजेन्द्रबहादुर धिमालको अध्यक्षता र नगर सभा सदस्य एवम् वडा पूर्वाधार समितिका संयोजक देवकुमार राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सचिव अशोक राईले उक्त योजनाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

चालु आर्थिक वर्ष ०७७/०७८ को स्वीकृत बजेटबाट विनियोजित दुई लाख रुपैयाँसहित जम्मा दुई लाख ३२ हजार छ सय नौ रुपैयाँ ८० पैसाको लागतमा ५७ मिटर लामो नाला निर्माण गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । गत मंसिर २१ गते सम्झौता भई सुरु भएको नाला निर्माणको कार्य गत पुस ३० गते सम्पन्न भएको थियो ।

सोही कार्यक्रममा प्रमुख अतिथि राईले बाँकी रहेको एक सय मिटरभन्दा बढी नाला निर्माणको कार्यलाई आगामी आर्थिक वर्ष ०७८/०७९ मा सम्पन्न गर्न वडा समितिले चार लाख रुपैयाँ विनियोजन गर्ने घोषणा गरेका छन् । हालसम्म उक्त योजनाको लागि तीन पटक गरी जम्मा छ लाख रुपैयाँ विनियोजन भएको छ ।

अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सचिव राईले गरेका थिए ।