झापा । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले नगर बाहिरबाट आउने माछाको आयातलाई रोक्न सकिने बताएका छन् ।

नगरमा माछाको उत्पादन बढाएर उपभोक्ताको माग धान्न सकेको खण्डमा बाहिरबाट आपूर्ति भइरहेको माछाको आयातलाई रोक्न सकिने नगरप्रमुख रानाले बताएका हुन् । नगरभित्र रहेका माछापालक किसानलाई सम्बोधन गर्दै भने, ‘नगरभित्रको मागलाई पूरा गर्ने गरी उत्पादन गर्नुहोस्, हामी निर्णय गरेर बाहिरबाट आउन रोक्छौँ ।’

स्वच्छ माछाको उत्पादन गरेर माछापालक किसानले आन्तरिक बजारको माग धान्न सकेको खण्डमा बोर्ड बैठक र नगर सभाबाटै निर्णय गरेर बाहिरको आयातलाई रोक्न सकिने उनको धारणा थियो । अन्य व्यवसायमा लागेका व्यक्तिसँग समन्वय र हातेमालो गर्न सकेको खण्डमा बजारको अभाव कहिल्यै नहुने उनको भनाइ छ ।

नगरमा रहेका माछापालक कृषकहरुलाई लक्षित गरी नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा बुधबारदेखि तीन दिवसीय माछापालन सम्बन्धी तालिम सुरु भएको छ । सम्बन्धित निकायसँगै सबै सरोकारवालाहरु एकजुट भए झापाको अर्जुनधारा नगरपालिका माछामा आत्मनिर्भर हुने कार्यक्रमका सहभागीहरुले दाबी गरेका छन् ।

कार्यक्रमका सहभागी नगर माछापालक संघका अध्यक्ष युवराज पाण्डेले सीप बिनाको कार्यले उद्देश्यमा पुग्न अप्ठ्यारो हुने हुँदा कृषकलाई व्यावसायिक बनाउन सीपसँगै नगरपालिकाले माछापालन गर्न आवश्यक बजेट स्वीकृत गर्नुपर्ने बताए । बाहिरबाट नगरमा आयात गरिने माछालाई पूर्णरुपमा नियन्त्रण गरी नगरमै आवश्यक दानाको उद्योग र भुरा उत्पादनको लागि ह्याचरी स्थापना गरिएको खण्डमा आफूहरु नगरभित्र रहेको माछाको बजार माग पूरा गर्न तयार रहेको अध्यक्ष पाण्डेले दाबी गरे । त्यस कार्यका लागि आवश्यक प्रविधि खरिद गर्न नगरसँग साझेदारी गर्न व्यवसायी तयार रहेको उनको भनाइ छ ।

हाल नगरमा ४९ जना कृषकबाट ६५ विगाहा क्षेत्रफलमा माछापालन भइरहेको संघका अध्यक्ष पाण्डेले जानकारी दिए । यहाँ उत्पादन भएका माछाहरु बाहिर पनि निर्यात भइरहेको समेत उनले प्रष्ट पारे । संघका अनुसार हाल नगरमा कमन कार्प, सिल्भर कार्प, ग्रास कार्प, बिग हेड कार्प, रहु, नैनी, पंघास र भाकुर प्रजातिका माछाहरु उत्पादन भइरहेको छ ।

यस नगरमा वार्षिक अनुमानित ३६ हजार क्विन्टल माछाको माग रहेकोमा हाल २० हजार क्विन्टल मात्र पूरा हुने गरेको शाखाको सर्वेक्षणमा भेटिएको शाखा प्रमुख पदमलाल राई बताउँछन् । यसअघि कृषकको समूहसँग समन्वय गरेर माछाको भुरा वितरण गरे पनि तालिम भने पहिलोपटक आयोजना गरिएको उनले बताए ।

माछालाई आवश्यक दाना उद्योगसँगै आधुनिक प्रविधिको स्थापना गरी कृषकको सीप र ज्ञान अभिवृद्धि गरेको खण्डमा नगरलाई आत्मनिर्भर बनाउन सकिने प्रमुख राई बताउँछन् ।

त्यसैगरी मत्स्य मानव संशाधन विकास तथा प्रविधि परीक्षण केन्द्र जनकपुरका वरिष्ठ मत्स्य विकास अधिकृत एवम् तालिमका सहजकर्ता रविलाल शर्मा समतल तराईदेखि मध्य पहाडी भेगसम्म माछा पालनको लागि पोखरी निर्माण भइसकेको अवस्थामा पालिकालाई माछामा आत्मनिर्भर बनाउन सम्भव भएको बताउँछन् ।

त्यसको लागि पालिकाले तयार गर्ने नीति तथा कार्यक्रममा माछापालन सम्बन्धी कार्यक्रम समावेश गर्नुपर्ने, माछापालनको लागि सम्भाव्य क्षेत्रको पहिचान गर्नुपर्ने, आवश्यक माछाको प्रजाति पहिचान गर्नुपर्ने र आवश्यक प्रविधि प्रयोगमा जोड दिनुपर्ने अधिकृत शर्माले बताए ।

हाल देशभर वार्षिकरुपमा माछाको आन्तरिक उत्पादन ९४ हजार मेट्रिक टन रहेको र थप १५ देखि २० प्रतिशत भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको उनले बताए । कम लगानीमा राम्रो आम्दानीको स्रोत भएको माछापालनलाई व्यावसायिकरुपमा विस्तार गर्न सकेको खण्डमा आयात गर्दा बाहिरिने रकमलाई देशभित्रै रोक्न सकिने उनले दाबी गरे ।

त्यस्तै प्रदेश १ का सांसद् वृख प्रधानले प्रदेश सरकारले कृषिसम्बन्धी अन्य कार्यक्रमहरु ल्याइरहँदा माछासम्बन्धी कार्यक्रम भने समावेश नगरेको स्वीकार गर्दै आगामी दिनमा उक्त कार्यक्रमलाई समावेश गर्न आफूले पहल गर्ने बताएका छन् ।

तालिममा अधिकृत शर्मासँगै, मत्स्य विकास अधिकृत सविता झा, भेटेरिनरी अस्पताल तथा पशु विकास केन्द्र झापाका मत्स्य विकास अधिकृत प्रदीप श्रेष्ठ, शाखा प्रमुख राईलगायतले सहजीकरण गर्ने तालिममा अर्जुनधाराका ४० जना कृषकको सहभागिता रहेको छ ।

नगर प्रमुख रानाको अध्यक्षता र प्रदेश सांसद् प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख कमला खतिवडा आचार्यले व्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।