अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा कुखुरा पालन व्यवसाय गरिरहेका किसानलाई व्यावसायिकरुपमा अघि बढाउने उद्देश्यले नगरको पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाले तालिम प्रदान गरेको छ ।

कृषकलाई व्यावसायिक कुखुरापालनबारे ज्ञान र सीप प्रदान गर्दै कुखुरापालनसँग जोड्नका लागि शाखाले दुई दिवसीय व्यावसायिक कुखुरापालन तालिम प्रदान गरेको हो । शाखा प्रमुख पदमलाल राई र डा.रविन राईले सहजीकरण गरेको तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।

तालिममा चल्ला हुर्काउने तरिका, खोरको व्यवस्थापन, दाना र पानीको व्यवस्थापन, रोगको उपचार र भ्याक्सिन, व्यावसायिक योजना लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको सहजकर्ता प्रमुख राईले जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा नगरपालिकाले सञ्चालन गर्न लागेको नगरस्तरीय विशेष सहकारीको औचित्यबारे शाखा प्रमुख राईले जानकारी दिए । कार्यक्रममा सहभागीहरुको तर्फबाट चन्द्रबहादुर कार्की र मन्दिरा बस्नेतले तालिमको अनुभव प्रस्तुत गरेका थिए ।

नगर आर्थिक समितिकी संयोजक दिलमाया दासको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीले आफ्ना भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।