झापा । झापामा व्यावसायिक केरा खेती गर्दै आएका किसान सरकारी अनुदान प्राप्त हुन थालेपछि थप उत्साहित बनेका छन् ।

झापाको बाह्रदशी गाउँपालिका-७ स्थित बत्तीस बिघामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्र झापाले केरा खेती ब्लक विकास कार्यक्रममार्फत कृषि औजारमा अनुदान र खेतीसम्बन्धी प्राविधिक ज्ञान दिन थालेपछि किसान केरा खेतीतर्फ थप आकर्षित बनेका हुन् ।

त्यहाँका किसानले दुर्गा माता कोला खेती तथा कृषि फर्म स्थापना गरी १४२ बिगाहा क्षेत्रफलमा सामूहिक रुपमा केरा खेती गरेका छन् । गत वर्ष उल्लेख्य आम्दानी गरेका किसानले यस वर्ष पनि उचित प्रतिफल लिन सक्ने समूहका अध्यक्ष लक्ष्मीनारायण चिमरियाले बताउनु भयो ।

कृषि ज्ञान केन्द्र झापाले आव ०७७/०७८ को अनुदान कार्यक्रम अनुसार सो समूहका किसानलाई आवश्यक कृषि औजार वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच केन्द्रले केरा खेतीको सिँचाइका लागि आवश्यक डीप बोरिङ, स्प्रे, कोदालो, सिक्कल र एक थान हाते ट्र्याक्टर हस्तान्तरण गर्यो । कार्यक्रमका प्रमुख अतिथि कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले किसानहरूलाई कृषि औजार वितरण गर्नुभयो ।

ज्ञान केन्द्रको १३ लाख अनुदान र समूहको ९ लाख ८८ हजार गरी २२ लाख ८८ हजारको कार्यक्रम सो समूहले सञ्चालन गरेको छ । सरकारी सहयोगले किसान केरा खेतीका लागि अझ उत्साहित भएको समूहका अध्यक्ष चिमरियाले बताउनु भयो । ज्ञान केन्द्र प्रमुख सिंहले त्यहाँका किसानले सरकारी अनुदानको राम्ररी उपयोग गरेको पाइएको बताउनुभयो । उहाँले क्षेत्रफल विस्तार गरेर केरा खेतीको जोन बनाउन पनि आग्रह गर्नुभयो ।

सो क्षेत्रमा उत्पादित केरा झापाबाहिर पनि उल्लेख्य मात्रामा खपत भइरहेको अध्यक्ष चिमरियाको भनाई छ । त्यहाँ अहिले मालभोग जातको केराको बढी मात्रामा खेती गरिएको छ । फर्मले केराबाट विभिन्न परिकार तयार गरी बजारमा लैजाने सोच पनि बनाइरहेको चिमरियाले बताउनुभयो ।