सांकेतिक तस्वीर ।

निशेष राई,
झापा । अन्नको भण्डार भनेर चिनिएको झापामा माघ-फाल्गुनमा नै धान रोप्ने काम शुरु भएको छ । पछिल्लो समयमा किसानले जिल्लामा तीन बालीसम्म धान लगाउन थालेका छन् भने नयाँ प्रविधिको प्रयोग पनि बढ्दो अवस्थामा छ ।

उत्पादन लागत कम गर्ने र तीन पटकसम्म धानवाली लगाउन किसानहरू तत्पर देखिएपछि यसले उत्पादनको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान सुपर जोन कार्यक्रम लागू भएसँगै किसानहरू बोरो धान खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।

चक्लाबन्दी खेती पकेट योजना अन्तर्गत कचनकवल-४ फेर्कागाछीमा रहेको हरित कृषक समूहमार्फत अहिले धान रोपाई भएको हो । राइस प्लान्टर (धान रोप्ने मेसिन) बाट धान रोप्नका लागि त्यसै अनुसारको धानको बिउ तयार पारेर समूहले धान रोपेको हो । परम्परागत रुपमा बिउ राखेर र प्लान्टरका लागि बेग्लै बिउ राखेर बोरो धान लगाइएको समूहका अध्यक्ष कन्हैयालाल गणेशले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मार्फत १ सय २० हेक्टरभन्दा बढी क्षेत्रमा बोरो धान खेती भएको एकाइ प्रमुख रवीन्द्र सुबेदीले जानकारी दिनुभयो । मङ्सिर महिनामा बिउ राख्ने र माघ अन्तिम सातासम्म रोप्ने कार्य भएको उहाँको भनाइ छ ।

बोरो धान खेतीको उद्देश्य सकेसम्म तीन बाली लगाउन भएको पनि सुबेदीले बताउनुभयो । सुपर जोन क्षेत्रमा सिचाइका लागि सोलार प्रणाली जडान भएको क्षेत्रमा विशेष गरेर बोरो धान रोपाई भएको छ । चैते धानभन्दा अघि बिउ राखेर धान रोपिएको अवस्थामा यसलाई बोरो भनिँदै आएको छ । चैते धान रोप्नका लागि बिउ राख्ने समय फागुन दोस्रो सातादेखि शुरु हुन्छ ।

झापा जिल्लामा कार्यान्वयनमा आएको धान सुपर जोन क्षेत्रको पूर्वाधार स्थिति, उत्पादन तथा उत्पादकत्व स्थिति, यान्त्रिकीकरण, प्रशोधन तथा बजारीकरणको स्थिति साथै आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको स्थिति र कृषकले अवलम्बन गरेको प्रविधिलाई दिगोपना तथा प्रतिस्पर्धाका स्थितिका आधारमा करिब ५ सय हेक्टरभन्दा बढी धानको क्षेत्रफल ढाक्ने गरी धान सुपर जोन ४ वर्षअघि स्थापना भएको थियो ।

कचनकवलसहित केही क्षेत्र समेटेर शुरु भएको धान सुपर जोन अहिले जिल्लाभर ४१ सय हेक्टर क्षेत्रफल विस्तार भएको पनि सुबेदीले बताउनुभयो । सो सँगै जिल्लामा बोरो खेतीको सम्भावना पनि बढेको उहाँको भनाई छ । रेडियो नेपालबाट