बिर्तामोड । यही फागुन १६ गते हुन लागेको बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि आज दुईवटा प्यानलको घोषणा हुँदैछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त व्यावसायिक प्यानलको घोषणा हुँदैछ भने नेपाली काँग्रेसले पनि आफू निकट व्यवसायीहरुको प्यानल पनि आज नै घोषणा गर्न लागेको छ । नेकपा र राप्रपाको संयुक्त प्यानलको घोषणा सभा भोलि दिउँसो २ बजे राखिएको छ ।

त्यस प्यानलको नेतृत्व सुवाष भट्टराईले गरेका छन् । भट्टराई अध्यक्ष रहेको प्यानलमा नेकपाका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायण चिमरिया, वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, महिला उपाध्यक्षमा उर्मिला खरेल, महासचिव अर्जुन मैनाली, उद्योग सचिव धनबहादुर डाँगी र कोषाध्यक्षमा दुर्गा थपलियाको उम्मेद्वारी रहने भएको छ ।

त्यस्तै सदस्यहरुमा विसन लिम्बू, गुन्जन प्रसाई, खगेन्द्र खरेल र भगिरथ लुइटेलले उम्मेद्वारी दिने निश्चित भएको अध्यक्षका प्रत्यासी भट्टराईले बताए । त्यस प्यानलमा उद्योग उपाध्यक्ष, उद्योग सचिव, सहकोषाध्यक्ष, महिला सदस्य र दुई खुल्ला सदस्य राप्रपाले पाएको छ ।

जसअनुसार उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, उद्योग सचिवमा कृष्ण पौडेल, सहकोषाध्यक्षमा रन्जु पयाकुरेल, महिला सदस्यमा सोनी अग्रवाल, खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्कीको उम्मेद्वारी रहने तय भएको छ ।

उता प्रजातान्त्रिक विचार भएका काँग्रेस निकट व्यवसायीहरुको प्यानल पनि आज नै घोषणा हुने कार्यदलका संयोजक देउमान थेबेले बताए । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि साझा उम्मेद्वार तय गर्न काँग्रेसले पूर्व जिल्ला उपसभापति थेवेको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

आफूहरु सहमति नजिक नजिक पुगिसकेको उनले बताए । प्रजातान्त्रिक विचार भएका व्यवसायीका तर्फबाट चार जनाले अध्यक्षमा उठ्ने घोषणा गरेका थिए । हालका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, उद्योग उपाध्यक्ष राजु न्यौपाने, जनसम्पर्क उपाध्यक्ष पार्वता विमली खरेल र महासचिव प्रशान्त भण्डारी गरी चार जनाले अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

उनीहरुमध्ये एक जनालाई अध्यक्षमा उठाउनेगरी व्यवसायीहरुको प्यानल निर्माण गर्न लागेको थेबेले जानकारी दिए । बाणिज्य संघको घोषित निर्वाचन कार्यक्रम अनुसार फागुन ६ गते उम्मेद्वारी दर्ता रहेको छ ।