प्रकाश नेपाल,
इलाम । एउटै खोला ६५ ठाउँमा तर्दै यात्रा गर्नु पर्ने अवस्था खेपेका पश्चिमी इलामका बासिन्दाले सडक निर्माणले गति लिए सँगै खुसी भएका छन् ।

हिउँदमा यात्रा गर्दा सहज भए पनि बर्खा लागेपछि समुन्द्रको टापुमा बसेको महसुस हुने लारुम्बाकी स्थानीय लोकमाया लिङ्देनको गुनासो छ । झापाको दमक माथिको रतुवा खोलैखोला यात्रा गर्दै आएका स्थानीयले सडकको निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन माग गरेका छन् ।

विभिन्न राजनीतिक दलले चुनावका बेला तत्काल सडक कालोपत्रे गर्ने आश्वासन दिए पनि दुई दशकदेखि सडकका अवस्था उस्तै छ । चुरेको कठिन भूगोल, खोला र जंगलबीच खोलिएको सडक निर्माण भए पश्चिमी इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमवासीलाई तराई झर्न सहज हुने माङसेवुङकी जनप्रतिनिधि इन्द्र सम्बाहाम्फे बताउनुहुन्छ । सडक बनेपछि कृषि उपज सामाग्रीले समेत राम्रो मुल्य पाउने उहाँको विश्वास छ ।

पछिल्लो पटक केन्द्रिय योजनामार्फत सडकको काम भइरहेकाले स्थानीयमा आशा पलाएको छ । अघिल्लो वर्ष ५९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर दमकदेखि चिसोपानी पञ्चमी बजारसम्म ३५ किलोमिटर खण्डमा सडक स्तरोन्नतीको काम अघि बढेको छ ।

स्थानीयलाई सहजता प्रदान गर्दै आर्थिक गतिविधिलाई पनि योगदान पुर्याउन महत्वपूर्ण मानिएको सडकको कामलाई तोकिएकै समयमा पूरा गर्न सम्बन्धित पक्ष गम्भीर बन्न आवश्यक छ । इमेज खबरबाट