झापा । अर्जुनधारा प्रेस क्लबले आफ्नै कार्यालय भवन निर्माणका लागि पहल थालेको छ । जसका लागि पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले अर्जुनधारा प्रेस क्लबको भवन निर्माण गर्न आवश्यक जमिन निःशुल्क प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अर्जुनधारा-१ स्थित पर्यटकीय क्षेत्र हात्तीआहालमा आइतबार आयोजित क्लबको दोस्रो साधारणसभालाई फोनमार्फत् सम्बोधन गर्ने क्रममा प्रेस क्लबको कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । अर्जुनधारा-८ स्थित बुढाथोकी परिवारको संरक्षणमा रहेको ऐलानी जमिन प्रदान गर्ने घोषणा गर्दै उनले सबै क्षेत्रले प्रेस क्लबको भवन निर्माणमा सहयोग पुराउन आह्वान पनि गरे ।

त्यसैगरी स्थानीय हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज लोहार र क्लबका सल्लाहकार कृष्ण बरालले भवन निर्माण कार्यमा आवश्यक सामग्री सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै क्लबका सल्लाहकार संयोजक एवम् यलम्बर टाइम्सका प्रधान सम्पादक दिपीन राईले नगद पाँच हजार एक रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

यता अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले जमिनको व्यवस्थापन भएको खण्डमा भवन निर्माणको लागि आवश्यक बजेट विनियोजन गर्न समस्या नहुने बताए । “सिर्जनात्मक कार्यको लागि नगरपालिका सधैं सकारात्मक हुनेछ”, उनले थप प्रष्ट पारे ।

क्लबका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता र नगर प्रमुख रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बुद्धशान्ति प्रेस क्लबका सल्लाहकार उमाकान्त खनाल, सल्लाहकार संयोजक दिपीन राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लबका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रमेश समदर्शीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रेम आचार्यले गरेका थिए ।

सोही कार्यक्रमको अवसरमा हचुमासा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरु, जनप्रतिनिधिहरु र पत्रकारहरुबीच समूहको अवसर, चुनौती र समस्याको विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो । सो विषयमा समूहका अध्यक्ष लोहार, उपाध्यक्ष सन्तबहादुर मगर र पूर्व अध्यक्ष वीजेन्द्र एक्तेनले जानकारी गराएका थिए ।