काँकडभिट्टा । सन्दकपुर-५ इलामकी १० वर्षीया अनुषा गुरुङ केही समयअघि दार्जिलिङ पुगेकी थिइन् ।

आफन्त पर्ने एक महिलाले उनलाई पढाई दिने सर्तमा घरेलु कामदारको रुपमा लिएर गएकी थिइन् । तर, उनले केही समयदेखि ती बालिकालाई अभद्र व्यवहार गर्न थालेपछि बालिका घर छाडेर भागिन् । दार्जिलिङको फुटपाथमा भौतारिरहेको प्रहरीले फेला पारेर स्थानीय सामाजिक संस्थालाई जिम्मा लगायो ।

भारतीय प्रहरी, सामाजिक संस्था, कोलकातास्थित महावाणिज्य दूतावासको पहलमा अनुषा जस्तै समस्या भोगेका र उनकै उमेरका ९ जना बालबालिका बुधबार घर आइपुगे ।

सूर्योदय नगरपालिका-३ इलामकी ८ वर्षीया दिक्षिना तामाङको कथा पनि उस्तै छ । उनी पनि आफन्तको घरमा गएकी थिइन् । उनलाई पनि निरन्तर कुटपिट गरिन् । अन्ततः उनले घर छाडेर भागिन् ।

प्रहरीको सहयोगमा एक सेल्टर गृहमा बसिन् । लामो प्रयासपछि उनी बुधवार अन्य साथीहरुसँगै घर फिरिन् । लामो समयपछि घर फर्किन पाएकोमा र अभिभावकसँग भेट्न पाएकोमा उनी औधि खुसी देखिन्थिन् ।

बालबालिकाका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था शिविन विराटनगरका अनुसार नेपालबाट बर्सेनि विभिन्न बहानामा बालबालिका भारत पुग्ने गर्छन् । कतिपय बाल श्रमिकको रुपमा र कतिपय अन्य जोखिमपूर्ण कामका लागि बालबालिका भारत पुर्‍याइने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार उद्धार गरी ल्याइएका बालबालिकाहरु आफन्तको घरमा काम गर्न बसेका धेरै छन् ।

प्रहरीका अनुसार झापा र इलामका ३-३ जना तथा दोलखाका २ र सिन्धुपाल्चोकका एक बालकको उद्धार भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले भारतका विभिन्न सेल्टर होममा राखिएका ५ वर्षदेखि १६ वर्ष उमेर समूहका बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको जनाए ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको अगुवाईमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल-६ की करिश्मा लामा, दोलखा बावरे-२ का श्याम थामी, दोलखा बावरे-५ का थोपगेल थामी, झापा शरणामति-९ का रोहन भट्टराई, शरणामति-९ का मनिक दुलाल, इलाम सूर्योदय नगरपालिका-३ की दिक्षिना तामाङ, सन्दकपुर गाउँपालिका-५ की अनुषा गुरुङ राई, सूर्योदय नगरपालिका-४ की पूजा प्रधान र मुन्नि ढोली र झापा मेचीनगर-५ का समिर सुब्बालाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको हो । कान्तिपुरबाट