झापा । ज्येष्ठ नागरिक सभाका केन्द्रीय सदस्य तथा प्रजातन्त्र सेनानी तमर राईको निधन भएको छ। झापा काँकडभिट्टा निवासी उनको शुक्रबार राति ६८ वर्षको उमेरमा मेचीनगर ६ स्थित निवासमा निधन भएको हो।

मुलुकको लोकतान्त्रिक आन्दोलन र प्रजातन्त्र स्थापनामा नेता राईको ठूलो योगदान रहेको छ। उनी कांग्रेस निकट प्रजातान्त्रिक सेनानी संघका झापा अध्यक्षसमेत भइसकेका व्यक्ति हुन्। कांग्रेसका पूर्वमहासमिति सदस्यसमेत रहेका राई काँकडभिट्टा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् ।

प्रजातन्त्र आउँदा राई तत्कालीन नकलबन्दा गाउँ विकास समिति कांग्रेस सभापति थिए। राईले लामो समयदेखि मधुमेह, प्रेसरको सामना गरिरहेका थिए। उनकी श्रीमती शुसिला, एक जना छोरा तरुण, छोरी अमिना र बुहारी रिना रहेका छन्। उनको आज स्थानीय सालघारीमा दाहसंस्कार हुनेछ।