झापा । नेपालका लागि इजरायलका राजदुत हानान गोडरले कृषि सौखका लागि नभई कृषि व्यवसाय, व्यापार र जीवन जिउने बाटो भएको बताउनुभएको छ ।

झापाको दमक नगरपालिका ३ मा सञ्चालित मान सरोवर कृषि सहकारीले गरेको कृषि फार्मको आज स्थलगत अवलोकन गर्दे राजदुत गोडरले कृषि क्षेत्रवाट देशलाई आर्थिक रुपान्तरण गर्न प्रशस्त संभावना भएको र त्यसमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

सहकारी संस्थाले आधुनिक तवरबाट खेती गरेको भन्दै प्रशंसा गर्दे उहाँले इजरायलमा ७० बर्ष अघिसम्म खाद्यान्नको अभाव रहेको र हाल आएर निर्यात समेत गर्न सक्ने भएको उदाहारण सुनाउनुभयो ।त्यसक्रममा राजदुत गोडरले कृषि खेतीका बारेमा सहकारी संस्थाका सञ्चालकहरुसंग अन्तरकृया समेत गरेका सहकारीका व्यवस्थापक महेन्द्र अधिकारीले वताउनुभयो । सो सहकारीले नेपाल सरकारको अनुदानबाट अर्गानिक कृषि उत्पादन र वजारीकरण गरिआएको छ ।

अवलोकन भ्रमणमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाई झापाका प्रमुख रविन्द्र सुवेदी, कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंह लगायतले कृषिको आधुनिकरणमा अर्गानिक उत्पादनको आवश्यकता भएकाले सवैले यसमा जोड दिनसके कृषि क्षेत्रमा रोजगारीको अवस्था वन्दै जाने उल्लेख गर्नुभएको थियो ।