धनकुटा । छथर जोरपाटी गाउँपालिकाले यस वर्षको कृषि अनुदान कार्यक्रम मार्फत गाउँपालिकाको ५ वटा कृषि तथा पशु सम्बन्धी संस्थाहरूलाई ४८ लाख अनुदान दिएको छ ।

गाउँपालिकाले जारी गरेको १५ दिने सूचनामा दरखास्त दिने ६ वटा वडाका १७ वटा कृषि सम्बन्धी संस्थाहरूबाट छनौट गरी ५ वटा कृषि तथा पशुपालन संस्थालाई अनुदान दिएको हो । अनुदानबाट ती समूह तथा सहकारीमा आबद्ध ११५ जना कृषकहरू लाभान्वित हुनेछन् ।

अनुदान पाउने संस्थाहरूलाई सङ्घीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन कार्यविधि अनुसार छनौट गरिएको भेटेनरी अधिकृत राजकुमार राईले जानकारी दिनुभयो ।

अनुदान पाउने संस्थाहरूमा बंगुर पालनका लागि आवेदन परेका ८ वटा संस्थाहरू मध्ये बङ्गुर पकेट क्षेत्रका वडा नं ३ को ढुङ्गे कृषि सहकारी संस्था र वडा नं ५ को खोक्ताप बाँझ बिसाउना कृषक समुह रहेको छ ।

त्यस्तै किवी खेतीका लागि आवेदन परेका ३ कृषि संस्थाहरू मध्ये किवी पकेट क्षेत्र कै वडा नं ६ को पहाडी किवी तथा तरकारी उत्पादन कृषक समूहले अनुदान पाएको छ ।

त्यस्तै खुर्सानी खेतीका लागि परेका ४ कृषि संस्थाहरू मध्ये खुर्सानी पकेट क्षेत्र भन्दा बाहिरका वडा नं २ को सल्लेरी कृषक समूहले अनुदान पाएको छ ।

मकै खेतीका लागि परेका २ आवेदन मध्ये पकेट क्षेत्र कै वडा नं १ को पिङ डाँडा कृषक समूहले अनुदान पाएको छ । सरकारको ७५ र कृषि समूह तथा सहकारीको २५ प्रतिशत साझेदारीमा उक्त अनुदानको कार्यक्रम सम्पन्न गरिने पालिकाले जानकारी दिएको छ ।

अनुदान पाउने बङ्गुर पालन अनुदान तर्फ १०÷१० लाखका दरले जम्मा २० लाख, किवी र खुर्सानी खेतीलाई ६÷६ लाख गरी जम्मा १२ लाख र मैकै खेती अनुदानका लागि १२ लाख दिइने भेटेनरी शाखाले जानकारी दिएको छ ।

अनुदानबाट बङ्गुर पालन तर्फ सहकारीमा आबद्ध २९ जना, किवी तथा तरकारी उत्पादन समूहका २१ जना, खुर्सानी कृषक समूहका ३८ जना र मकै खेती समूहका २७ जना किसान लाभान्वित हुनेछन् ।

पालिकाले वडा नं १ लाई मकै, २ लाई खुर्सानी, ६ लाई किवी र ३ र ५ वडालाई बङ्गुर पालन पकेट क्षेत्र घोषणा गरेको छ ।