झापा । नेपालको सिमाना मेची नदीपूर्वका चार बस्ती नेपाली भूभागभित्र पर्दछन् । तीमध्ये मेचीनगर नगरपालिका-१५ स्थित तीन बस्तीमध्येको ग्वालबस्तीका १७ घरमा आजदेखि बिजुली बत्ती बलेको छ ।

शिक्षा, स्वास्थ्य र यातायातलगायतका विकासको पूर्वाधार नपुगेका ती गाउँका अधिकांश बासिन्दा अझै टुकी र लालटिन बत्तीमा निर्भर थिए । केही घरमा सौर्य उपकरण थिए । वर्षौंदेखि लगभग अन्धकार रहेको मेचीपारिको ग्वालबस्तीमा मेचीनगर नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको भद्रपुर वितरण केन्द्रले बिजुली बत्ती पु¥याएको हो ।

मेचीनगर क्षेत्रमा मेची नदीपारि रहेको ग्वालबस्तीमा, सिसौडाँगी र झाडुबस्तीमा १५० परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये ग्वालबस्तीका १७ परिवारलाई आजै निःशुल्क मिटर जडान गरेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीले संयुक्तरुपमा बिजुलीको स्वीच थिचेर बत्ती बालेका हुन् ।

अन्य बस्तीमा समेत बिजुली बत्ती बाल्लका लागि धमाधम खम्बा गाड्ने काम भइरहेको मेचीनगर-१५ का वडाध्यक्ष गुणराज भट्टराईले बताए ।