दमक । सार्वजनिक सम्पति अतिक्रमण गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक ७ मा सुकुम्बासी बस्तीमा डोजर लगाइएको छ ।

शुक्रबार विहान बस्ती खाली गराउन स्थानीय प्रशासन र नगरपालिकाले बल प्रयोग गरेर डोजर लगाएको स्थानीयबासीले बताएका छन् । प्रशासनले यसअघि पनि पटक पटक लिखित तथा मौखिक रुपमा बस्ती खाली गर्न स्थानीयलाई उर्दी गरेको थियो ।

रतुवाखोलाको बाढीले कटान गरेपछि विस्थापित परिवार सो स्थानमा बस्दै आएका थिए । उनीहरु ०४६ सालदेखि बस्दै आएका हुन् । ‘तत्कालिन प्रशासकले उनीहरुलाई अस्थायी रुपमा मात्र बसोबासको व्यवस्था मिलाएको थियो’, वडा अध्यक्ष भिम पौडेलले भने, ‘बास्तविक सुकुम्बासीको पहिचान गरी नगरपालिकाले निर्माण गरेको नमुना बस्तीमा लैजानबाट छाडिएका धनाढ्यहरुले प्रशासनले बस्ती खाली गर्दा डोजर लगाएको आरोप लागेको हो ।’

‘हामीले नमुना बस्तीमा स्थायी बसोबासका लागि लगिएका बास्तविक सुकुम्बासी हुन् । उनीहरुमध्ये धनाढ्य सुकुम्बासीले टोल छोड्न अटेर गरे । ‘उनीहरुलाई बस्ती छोड्न प्रशासनले गरेको आग्रहको अटेर गरेपछि बस्तीमा डोजर र प्रहरी गएका हुन् । डोजर लगाइएको होईन’, उनले भने ।

सरकारले सार्वजनिक (सरकारी) जग्गाको खोजी गरी त्यस ठाउँमा बहुआयामिक व्यापारिक केन्द्र निर्माण गर्ने तयारी गरेको छ । दमकको नमुना मार्गमा जोडिएको उक्त बस्तीका बासिन्दालाई सरकारी जग्गा छोड्न पटक पटक आग्रह गरेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।

‘नगर र प्रशासनले पहिचान गरेका सुकुम्बासी नमुना बस्तीमा गईसकेका छन् । जसको करोडौको सम्पति छ उनीहरु बास्तविक सुकुम्बासी होइनन् । उनीहरुले अटेरी गरिरहेका छन्’, नगरप्रमुख ओली भने । प्रशासनले गतवर्ष नै हटाउने तयारी गरेको थियो । कोभिडका कारण गत वर्ष नहटाईएको नगर प्रमुख ओलीले बताए ।

उनले भने, ‘बिकासमा बाधक त बन्नु भएन नी ।’ सो क्षेत्रमा प्रशासनले कम्तिमा तीन सय प्रहरी परिचालन गरेको छ ।